टिम्मुर खेतीका लागि सहयोगी पुस्तक प्रकाशन

Posted on: 17 Feb, 2017

फागुन ६, म्याग्दी । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ । 

जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’ बिहीबार बेनीमा एक कार्यक्रमबीच विमोचन गरियो । 

जडीबुटीसम्बन्धी अध्ययनमा लामो समयदेखि संलग्न रहँदै आउनुभएका उहाँको सो पुस्तक फार्मिङ फर हेल्थले प्रकाशन गरेको हो । पुस्तकमा टिम्मुरको महत्व, उपयोगिता, खेती प्रविधि र बजारीकरणसम्बन्धी अनुसन्धनात्मक लेख समावेश रहेका छन् । 

म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको विमोचन कार्यक्रममा सांसद एवं पूर्वराज्यमन्त्री नरदेवी पुनले यो पुस्तक टिम्मुर खेती गर्ने कृषकका लागि सहयोगी र उपयोगी हुने बताउनुभयो । 

मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । सहरी क्षेत्रका होटलमा अचार र दालमा मसलाका रुपमा टिम्मुर खपत हुने गर्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!