अदुवा बिक्री नभएपछि कृषक निराश

Posted on: 20 Mar, 2017


चैत ७, पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । 

यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन । खाद्यबाली र तरकारीको विकल्पमा खेतबारीमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । अदुवाले उचित मूल्य र बजार पाउन नसकेको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदी बताउनुहुन्छ । 

बिक्री नभएपछि यहाँका कृषकले उत्पादन गरेको पाँच हजार किलो अदुवा बारीमै कुहिन थालेको छ । “प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा पनि बिक्री भएन”, सुवेदीले भन्नुभयो – “लगानीसमेत उठ्न नसक्ने अवस्था छ ।” 

सो क्षेत्रमा उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो । नेपालमा अदुवाको प्रयोग न्यून छ भने यसलाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ । 

दुई वर्ष अगाडीसम्म अदुवा प्रतिकिलो रु ६० देखि रु ८० मा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदी बताउनुहुन्छ । यातायातको सुविधा नहुँदा यहाँका कृषक पिठ्यूमा बोकेर म्याग्दीको बेनीसम्म अदुवा, दूध, तरकारीलगायत कृषि उपज बिक्री गर्दैआएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!