असिना, हावाहुरीले लिची र आँपमा क्षति

Posted on: 21 Mar, 2017


चैत ८, उदयपुर । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । 

अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक रुपमा असिनाले खसाएर क्षति पु¥याएको कुरा जोगिदहका स्थानीय दिनेश चौधरीले बताउनुभयो । 

दक्षिणी क्षेत्रबाट आएको वर्षासँगैको हावाहुरी तथा असिनाले हँडिया र सुन्दरपुर क्षेत्रमा भर्खरै फुल्न थालेको आँप र लिचीको फूललाई क्षति पु¥याएको हँडिया राजाबासका स्थानीय राजकुमार प्रधान बताउनुहुन्छ । 

प्रधानले भन्नुभयो, “यो आँप र लिचीको फूल फुल्ने र फल लाग्न सुरु गर्ने समय हो, आफूहरुको बगैँचामा आँप तथा लिची फुलेर भर्खरै सानासाना फलसमेत लाग्न सुरु गरेका बेला अचानक आएको असिनाले फूल खसाइदिएको छ, यसपटक यस क्षेत्रमा आँप र लिची उत्पादनमा ठूलो क्षति पुगेको छ ।” 

यता जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरीको भागलपुर क्षेत्रमा समेत असिनाका कारण आँपको फूलमा क्षति पुगेको भागलपुरका डिकबहादुर राई बताउनुहुन्छ । उदयपुर जिल्लामा जोगिदह, हँडिया, सुन्दरपुर र तपेस्वरी क्षेत्र आँपको पाकेट क्षेत्र मानिने गरेको छ । यसक्षेत्रमा लामो समयदेखि धेरै कृषकले व्यावसायिकरुपमा आँप तथा लिचीखेती गर्दै आएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!