खोटाङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू

Posted on: 27 Mar, 2017

चैत १४, खोटाङ | प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा पनि लागू भएको छ । 

सो परियोजना बमोजिम जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बनाइने भएको होे । 

परियोजना सञ्चालनका क्रममा जिल्लामा चालु आर्थिक वर्ष २०७३÷७४ का लागि करिब रु ८९ लाख बजेट प्राप्त भएकाले कृषि पेसालाई व्यावसायिकरण गर्दै जिल्लाको आर्थिक उन्नति बढाउँदै लैजाने सो परियोजनाका जोन इकाइ प्रमुख लक्ष्मीप्रसाद खरेलले बताउनुभयो । 

ब्लक परियोजना सञ्चालनका लागि अदुवा र बेसारको एउटा ब्लक तथा अलैंँचीको एक वटा ब्लक निर्धारण गरिएको छ । यस्तै, दिक्तेल, नुनथला र दुर्छिमलाई मकैका लागि जोन परियोजना सञ्चालनका लागि छनोट गरिएको खरेलले जानकारी दिनुभयो । 

पकेट परियोजना सञ्चालनका लागि भने हाल जिल्लामा स्थान निर्धारणको काम भइरहेको जनाइएको छ । परियोजना सफल पार्न जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकायलगायतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

‘बधशालादेखि भान्छासम्म स्वस्च्छ एवम् स्वस्थ मासु’ अभियान 

जिल्ला पशुसेवा कार्यालयले सप्ताहव्यापी रुपमा स्वच्छ एवम् स्वस्थ मासु अभियान सुरु गरेको छ । ‘हाम्रो खोटाङ, राम्रो खोटाङ, सुन्दर खोटाङ, स्वास्थ्य खोटाङ’ भन्ने नाराका साथ कार्यालयले सप्ताहव्यापी अभियान सुरु गरेको हो । 

अभियान अन्तर्गत कार्यालयले हिजो सदरमुकाम दिक्तेलमा प्लेकार्डसहित निकालेको प्रभातफेरि बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर समापन भएको थियो । 

अभियानको दोस्रो दिन आज मासु तथा कुखुरा व्यवसायीसँग अन्तक्र्रिया, तेस्रो दिन ‘स्वाइन फिभर’ रोग सम्बन्धी अन्तक्र्रिया, चौंथो रानीखेत रोग नियन्त्रण सम्बन्धी अन्तक्र्रिया, छैठौँ दिन हलेसीका मासु पसल अनुगमन र सातौँ दिन डिकुवामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यालय प्रमुख डा राजेन्द्र रायले जानकारी दिनुभयो । 

अभियान अन्तर्गत बधशाला अनुगमन, सरोकारवालासँग अन्तक्र्रियालगायतका कार्यक्रम तय गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा अव्यवस्थित तथा स्वच्छ एवम् अस्वस्थ मासु बिक्री गर्ने व्यवसायी तथा व्यापारीलाई कारबाही गरिने पशुसेवा कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!