नुवाकोटमा १० करोडको मुला बिक्री

Posted on: 29 Mar, 2017


चैत १६, नुवाकोट । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । 

चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उहाँले बताउनुभयो । 

आव २०७२/७३ मा रु सात करोडको मुला उत्पादन भएको कार्यालयले जनाएको छ । स्थानीय बजारमा मुला अहिले प्रतिकिलो रु १० देखि रु १२ मा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मुला काठमाडौँसम्म पुग्ने गरेको छ । 

अन्य बालीको तुलनामा खेती लगाउन, हुर्काउन सजिलो हुँदा किसान मुलाखेतीतर्फ आकर्षित भएका हुन् । मुला ४० दिनदेखि ६० दिनमा तयार हुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा अन्य बाली उत्पादनमा ढिलाइ हुँदा किसान मुलाखेती गर्दैआएका छन् । 

जिल्लाको ककनी, ओखरपौवा, मदानपुर, बेलकोट, चाउथे कुमरी, किम्ताङलगायत ठाउँलाई जिल्ला कृषि कार्यालयले पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!