तेह्रथुममा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन तरकारी खेती तालिम

Posted on: 23 Apr, 2017

प्रकाश धौलाकोटी | बैशाख १०, तेह्रथुम | जिल्ला युवा समितिको कार्यालयले युवाहरुलाई स्वदेशमै रोजगार र आत्मनिर्भर बनाउन तरकारी खेती प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ ।

म्याङलुङ्ग नगरपालिका–९ स्थित हलिमेलामा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन तीन महिने मौषमी तथा बेमौषमी तरकारी खेती प्रविधि सम्बन्धी तालिम सुरु गरिएको जिल्ला युवा समितिका अध्यक्ष नवीन खतिवडाले बताए । 

सहभागी युवाहरुलाई तालिम अवधिभर नर्सरी ब्यवस्थापन, विऊ विजनको तयारी, रोग तथा किरा नियन्त्रण, तरकारीको बजारीकरण लगायतका विषयमा सिकाइनेछ । १६ देखि ४० बर्ष सम्मका ३५ बढी स्थानीय युवाहरु सहभागी तालिमको सहजीकरण लालीगुराँस बहुप्राविधिक शिक्षालयले गरेको छ । तालिम पछि सहभागी युवाहरुलाई व्यवसायिक तरकारी खेती गर्न प्रोत्साहन मिल्ने आशा गरिएको छ । तालिममा खेती प्रविधिसँगै उद्यमशिलता विकास तालिम समेत दिइनेछ ।

तालिमको समुद्घाटनमा स्थानीय विकास अधिकारी तुलसीनाथ गौतम, सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरे, वरिष्ठ कृषि बिकास अधिकृत रोहिणीराज घिमिरे, जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद पोख्रेल,  हलिमेला कृषि सहकारी सस्थाका अध्यक्ष बमवहादुर लिम्वु लगायतले तालिमपछि तरकारी खेतीलाई व्यवसायिक बनाउन सुझाव दिए । 

युवाहरुलाई स्वरोजगार बनाउन जिल्ला युवा समितिले विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । युवाहरुको क्षमता विकास तथा स्वरोजगारकालागि युवा समितिले विभिन्न तालिम, सेमिनार र छलफल गराउने अध्यक्ष खतिवडाले बताए । 

समितिले युवाहरुमध्ये उत्कृष्ट उद्यमीहरु छनौट गरी पुरस्कृत गर्ने, उद्यमीहरुको विकास तथा लगानीमा सहयोग गर्ने, युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लगायत कामहरु गरिरहेको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!