कृषिमा आधुनिक प्रविधि आवश्यक

Posted on: 13 Jul, 2017

प्रभात सुवेदी । असार २९, बर्दिया । 

उत्पादकत्व बढाउन अबको आवश्यकता भनेको कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइएको छ ।

जिल्ला कृषि विकास कार्यालय बर्दियाले आज गुलरियामा आयोजना गरेको आ.व. २०७३/०७४ मा सञ्चालित वार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यो कुरामा जोड दिएका हुन् ।


जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतले आ.व. २०७३÷०७४ मा सम्पादन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुहुँदै जिल्लामा कृषि उत्पादकत्व बढाइ कृषि उपजहरुको व्यावसायिकीकरणका लागि सञ्चालन गरिएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभयो । 

कार्यक्रममा स्थानीय विकास अधिकारी तेजराज शर्माले कृषि पेशालाई अझै पनि सम्मानित पेशाका रुपमा हेर्ने नगरिएका कारण आशातित सफलता प्राप्त हुन नसकेको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रतिनिधि देवी प्रसाद पौडेलले नेपाल कृषि प्रधान देश भएकाले अबका दिनमा यस क्षेत्रमा गुणस्तरीयता कायम गर्न र कृषकहरुको मिहिनेत खेर नजानका लागि स्थानीय निकायका प्रतिनिधिहरुले विशेष रुपमा ध्यान दिनु पर्ने कुरा बताउनुभयो । 

विभिन्न प्रकारका व्यावसायिक खेतीमा लागेका कृषकहरु, राजनैतिक दलका प्रतिनिधीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि क्षेत्रमा नमूना कार्य गर्ने कृषकहरुलाई सम्मान गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!