सप्तरीमा करोडौँको केराखेती नष्ट

Posted on: 06 Sep, 2017

भदौ २१, राजविराज। दुई साताअगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको भारदहमा लगाइएको करोडौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ । 

सप्तकोशी नदीको छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ स्थित भारदहमा लगाइएको सो केराखेती नष्ट भएको हो । करिब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताउनुभयो । 

विभिन्न नदी र खोलामा आएको बाढी र पहिरोका कारण खेतमा पानी पसेपछि यहाँ लगाइएका अधिकांश केराका बोट गलेर नष्ट भएका छन् । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केरा खेतमा पानी थुनिएपछि अहिले केराको बोट सुक्न थालेको पीडित कृषक बैजु मण्डलले बताउनुभयो । यहाँ एक बिघा जग्गामा केराखेती गर्न करिब रु तीन लाखभन्दा बढी खर्च हुन्छ । बाढीका कारण केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् । 

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ जोगिनियाँस्थित कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । त्यहाँ चारसय बिघामा केराखेती गरिएको थियो । सो क्षेत्रको अधिकांश केराखेती बाढीका कारण नष्ट भएको बताइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!