इलाममा अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

Posted on: 10 Sep, 2017

भदौ २५, इलाम। अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । 

जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । 

जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओमार्फत रु ३१ लाख सहयोग प्राप्त भएको र त्यसले अदुवाको उत्पादन र बजारीकरणलाई व्यवस्थित गरी किसानलाई अदुवाको उचित मूल्य दिलाउने बताउनुभयो । यो परियोजना जिल्लाका चार नगरपालिका र छवटा गाउँपालिकामा यही महिनादेखि एक वर्षसम्म सञ्चालन गरिने छ । 

संघले परियोजनामार्फत अदुवामा देखिएका समस्या समाधानका लागि बहस पैरवीसमेत चलाउने अध्यक्ष भट्टराईले बताउनुभयो । जसअन्तर्गत सहकारीका सदस्यहरूलाई विभिन्न किसिमका तालीम दिइने संघले जनाएको छ । 

बिब्ल्याँटेका अदुवा व्यवसायी गोविन्द पौडेलले भारतले अदुवामा कर लिइरहेको र गुणस्तर नबढाई निकासी भइरहेकाले समस्या सिर्जना भइरहेको बताउनुभयो । 

जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अदुवाको मूल्य अभिवृद्धि नहुँदा कच्चीरूपमै भारत निकासी भइरहेको छ । भारतमा क्वारेन्टाइन समस्या र गुणस्तरको अभावमा निकासीमा समस्या भएकाले किसानले अदुवाको उचित मूल्य पाउन सकेका छैनन् । 

अदुवाबाट सुठो, क्याण्डी, जुस, मसला, मिठाइ, वाइनजस्ता वस्तु उत्पादन गर्न सकिने भए पनि त्यस प्रकारका उद्योग खुल्न नसकेका कारण पनि किसानले अदुवाको उचित मूल्य पाउन नसकेका हुन् । माउ अदुवा बिक्री गर्ने मौसममा पनि मूल्य नपाएपछि किसान मारमा परेको फाकफोकथुम गाउँपालिकाका वडा नं ३ का मदन पाण्डे बताउनुहुन्छ । 

माउ अदुवाको मौसममा पनि प्रतिमन रु चार सयमा पनि मुस्किलले मात्रै बिक्री हुने गरेको पाण्डेको भनाइ छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!