अलैँचीको मूल्यमा गिरावट, किसानहरु चिन्तित

Posted on: 25 Sep, 2017

असोज ९, झापा। कालो सुन भनेर चिनिने अलैँचीको मूल्य निरन्तर घट्दै गएपछि कृषक र व्यवसायी चिन्तित बन्न थालेका छन् । 

कुनै समयमा ४० केजीको रु एक लाख २५ हजारसम्म पुगेको अलैँचीको मूल्य घटेर अहिले प्रतिमन रु ३० हजार पुगेकाले कृषक र व्यवसायी चिन्तित बनेका हुन् । 

पहिला नौ जिल्लामा अलैँची खेती हुन्थ्यो तर अहिले विस्तार भएर ३७ जिल्लामा खेती हुने गरेको छ । उत्पादन बढ्यो तर आपूर्ति व्यवस्था तथा बजार व्यवस्थापनको अभावमा अलैँचीले उचित मूल्य पाउन सकेको छैन । 

अलैँची खेतीलाई सुधार गर्न र यसबाट कृषक, व्यवसायी र राज्यले उच्चतम फाइदा लिन नेपाल अलैँची व्यवसायी महासंघ केन्द्रीय कार्यालय, बिर्तामोडले केही समस्या पहिचान गरी समाधानका लागि सरकारसँग माग गरेकोे छ । 

महासंघले अलैँची खेतीमा विभिन्न किसिमको रोग र त्यसको पहिचान हुन नसक्नु, प्राविधिक तथा विशेषज्ञको अभाव हुनु, मागअनुसार बिरुवा उपलब्ध नहुनु, हावापानीअनुसार कहाँ र कुन प्रकृतिको अलैँची रोप्नु पर्ने हो त्यसको यकिन गर्न नसक्नु, जलवायु परिवर्तनको असर र पानीको स्रोत सुक्दै जानु, सिँचाइको अभाव हुनुजस्ता कारणका साथै वित्तीय समस्या, अलैँची भण्डारणका लागि केन्द्र तथा जिल्ला तहमा सुरक्षित, सुविधायुक्त गोदामको अभाव, तालीम एवं प्रशिक्षणको अभाव, अलैँची सुकाउने आधुनिक भट्टीको अभाव भएको महासचिव ओमकृष्ण विमलीले जानकारी दिनुभयो । 

उहाँले अलैँचीको मूल्यमा गिरावट र मूल्यसम्बन्धी सूचनाको अभाव, उत्पादनस्थलबाट बजारसम्म पुग्नका लागि सुगम कृषि सडकको अभाव, एकद्वार प्रणाली तथा राष्ट्रिय नीति नहुनु, अलैँचीको मसलाजन्य, औषधिजन्य, तेलजन्य वस्तुको उद्योगको अभावले यसको मूल्यमा निरन्तर ह्रास आउनाका प्रमुख कारण रहेको महासंघले ठहर गरेको छ ।    रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!