रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

Posted on: 05 Oct, 2017

असोज १९, रोल्पा (रासस) । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ । 

जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको छ । अस्ट्रेलियाबाट खरिद गरी ल्याइएका ती बोकाको बजार मूल्य डेढ लाखदेखि दुई लाखसम्म पर्ने वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले बताउनुभयो । स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी उत्पादकत्व बढाउने तथा बोका बिक्री गरी आयआर्जन गर्ने उद्देश्यका साथ ती बोका भित्र्याइएको उहाँले जानकारी दिनुभयो । 

एउटा वयर जातको बोकाबाट ५० किलोभन्दा बढी मासु उत्पादन हँुदै आएको सम्बद्ध कृषकले बताएका छन् । प्रतिकिलो रु ८०० सम्म मूल्य रहेको सो जातको बोकाको मासु स्वादिष्ट र खँदिलो हुने हँुदा बजारको समस्या नभएको कृषक बिना केसीले बताउनुभयो । उहाँका अनुसार वयर जातको बोकाको क्रसबाट स्थानीय बाख्राले समेत तीन वटासम्म पाठापाठी जन्माउने गरेको र ती पाठापाठी पाँच महिना पछि रू १८ हजारमा बिक्री हुने गरेको छ । 

स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी बढीभन्दा वढी आम्दानी गर्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ जिल्ला पशु सेवा कार्यालयले यस्तो कार्यक्रम गरिरहेको पशु चिकित्सक नीमबहादुर सिंहले बताउनुभयो । खाद्य सुरक्षा परियोजनाअन्तर्गत जिल्लामा ७१ वटा बाख्रापालन समूह, पाँचवटा भँैसीपालन समूह, दुईवटा डेरी र २४ वटा नमूना बगैँचा कार्यक्रम सञ्चालनमा रहेका छन् । 

साबिकका लिवाङ, गजुल, जंकोट, वडाचौर, जैमाकसला, कोर्चवाङ, घर्तीगाउँ, जुगार, गैरीगाउँ र बुढागाउँ गाविसमा उक्त कार्यालयले खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको कार्यक्रमका जिल्ला प्राविधिक अधिकृत विजय देवकोटाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!