यान्त्रिक हलोतर्फ म्याग्दीका किसानको आकर्षण

Posted on: 30 Nov, 2017

मङ्सिर १४, म्याग्दी । जिल्लाका किसान यान्त्रिक हलोतर्फ आकर्षित भएका छन् । 

ग्रामीण क्षेत्रका किसानले खेतबारी खनजोतका लागि गोरुको विकल्पमा आधुनिक यान्त्रिक हलोको प्रयोग गर्ने क्रम बढेको छ । गाउँमा किसान यान्त्रिक हलोले खेतबारी खनजोत गर्न थालेका छन् । 

यान्त्रिक हलोको प्रयोगसँगै उत्पादन लागत घटेको र सजिलो भएको किसानले बताएका छन् । बेनी नगरपालिकाका साथै मालिका, मंगला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका किसानले यान्त्रिक हलोको प्रयोग गरेर खेतबारी खनजोत गर्न थालेका छन् । 

धौलागिरि गाउँपालिका– ७ ताकमका भोजीन्द्र पौडेलले गोरुले जोत्दा तीन दिन लाग्ने खेत मिनीटिलरले एकै दिनमा सक्ने बताउनुभयो । सडक छेउछाउ, ढुङ्गा नभएको र ठूला गह्रा भएका फाँटमा ट्र्याक्टरले नै खेत जोत्ने गरिएको छ । 

ताकमका किसान दीपक सुवेदीले गोरु नपाइने, पाल्न दुःख हुने र मजदुर नपाउने समस्या बढिरहेका बेला यान्त्रिक हलोले राहत मिलेको बताउनुभयो । यान्त्रीकरणमार्फत कृषि कार्यलाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले विगत केही वर्षयता जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मिनीटिलर हलो वितरण गर्दै आएको छ । 

एउटा मिनीटिलर हलोको मूल्य रु ७५ हजारसम्म पर्छ । हलगोरु खरिदका लागि पनि उत्तिकै खर्च गर्नुपर्ने र पाल्नुपर्ने झन्झटबाट किसान मुक्त भएका छन् । 

यस वर्ष कृषिको बजेट स्थानीय तहमा गए पनि नगरपालिका र गाउँपालिकाले बजेट अन्यत्र विनियोजन गर्दा यन्त्र उपकरण, मलबीउ र विषादीमा पाउँदै आएको अनुदानबाट वञ्चित हुनु परेको बेनपा–२ बगरफाँटका भीमबहादुर रिजालले बताउनुभयो । 

मिनीटिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा भने किसानलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा ट्र्याक्टरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने समस्या रहेको किसानले बताएका छन् । 

बजारीकरण गर्न महोत्सव 

स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस २८ गतेदेखि माघ ८ गतेसम्म बेनीमा छैटौँ म्याग्दी महोत्सव आयोजना हुने भएको छ । 

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा माघे संक्रान्ति पर्वका अवसरमा महोत्सवका साथै ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापार मेला आयोजना हुन लागेको हो । 

स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो । 

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करिब रु छ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यावसायिक कक्ष राखिनेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!