कालिकोटमा खडेरीले २२ सय हेक्टर जमिन बाझै

Posted on: 27 Dec, 2017

पुस १२, कालिकोट । कालिकोटले जिल्लामा खडेरीका कारण २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको छ । 

जिल्ला कृषि विकास कार्यालय कालिकोटको तथ्याङ्क अनुसार आकाशे पानीको भरमा गहुँ खेती हुने जिल्लामा २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको हो । 

जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनिलकुमार सिंहले जिल्लामा आकाशे पानीको भरमा खेती हुने अधिकांश जमिनहरु लामो समय बर्षा नहुँदा बाझो रहेको बताए ।

उनले जिल्लामा जम्मा १५ हजार ५ सय ६० हेक्टर खेती योग्य जमिन रहेको जानकारी दिए । कालिकोटमा बर्षेनी ५ हजार ६ सय ५० हेक्टरमा गहुँ खेती हुँदै आएको छ । 

जसमा यो बर्ष खडेरीका कारण पुसको दोस्रो सातासम्म ३ हजार ३ सय ९० हेक्टर जमिनमा मात्र किसानहरुले गहुँ बाली लगाएका छन् । लामो समय जिल्लामा पानी नपर्दा स्थानिय किसानहरु चिन्तित भएका छन् ।

आकाशे पानीकै भरमा खेती गर्दै आएकी पलाता गाँउपालिका वडा नं. ३ कि दाना न्यौपानेले भनिन्, ‘बर्षा नहुँदा यस बर्ष त मेरो सबै खेत बाझो रह्यो ।’ सिजनमै पानी परेपछि असोज कात्तिकमै गहुँ खेती गरेसक्ने खेतहरुमा पुसको दोस्रो सातासम्म पनि बर्षा नभएकाले गहुँ छर्न नसकेको उनले बताईन् । उनले भनिन्, ‘आकाशे पानीको भरको खेतीले बर्षेनी संकट पैदा गर्ने भयो ।’

यस्तै कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ७ का स्थानीय किसान मनबिर बोहोरालाई पनि उस्तै चिन्ता छ । पुसको १५ जान लाग्दा पनि बर्षा हुने छाँट नदेखिए पछि यो बर्ष जग्गा बाझो रहेको उनले बताए । 

‘यसको दुई बर्ष अगाडि परेको खडेरीले गाँउमा खेती गर्ने बिउको पनि अभाव भएको थियो’ उनले भने, ‘गत बर्ष भने केही सहज भयो । यस बर्ष उस्तै खडेरी पर्ने संकेत देखिएको छ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार कालिकोट जिल्लामा यस बर्ष गहुँबाली उत्पादनमा अनुमानित २५ प्रतिशतले कमी आउने आँकलन गरिएको छ । जिल्लामा गत बर्ष ५ हजार १ सय मेक्ट्रिकटन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले बताए । गत बर्षको तुलनामा यस बर्ष गहुँबाली उत्पादनमा २५ प्रतिशत जती कमी आउन सक्ने उनको अनुमान छ । 

गत बर्षको तुलनामा यस बर्ष बर्षा नहुँदा २५ प्रतिशत बढी किसानको जग्गा बाँझो रहेको छ । जिल्लाका पलाता क्षेत्रमा झन् अधिकांश जमिनहरु सिंचाईको सुविधा नहुँदा बाँझै रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!