पर्वतमा नहर मर्मत नहुँदा खेत बाँझै

Posted on: 25 Jan, 2018

माघ ११, पर्वत | जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ । 

गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै दुई हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो । 

कालीगण्डकी लोकमार्गअन्तर्गत फलेबास–दोबिल्ला सडक विस्तारको क्रममा नहर पुरिएको हो । नहर मर्मत गर्न कुनै निकायले चासो नदिँदा खेत बाँझो रहेको स्थानीयवासी शालिग्राम लामिछानेले बताउनुभयो । सिँचाइको एक मात्र विकल्पको रूपमा रहेको उक्त नहर सञ्चालनमा नआउँदा यस वर्ष धान उत्पादनमा दुई तिहाइले कमी आएको उहाँको भनाइ छ । 

अहिले हिउँदे तरकारी लगाउने समयमा पनि खेत बाँझो रहेकामा यहाँका किसान निराश छन् । तरकारी, गहुँ, तोरी, फापरलगायत खेती हुने ठाउँ बाँझै छ । गत जेठमा नहर पुरिएपछि अधिकांशले आकाशेपानीको भरमा धान रोपाइँ गरेका थिए । अहिले पानी नपर्दा खेत जोत्न समस्या भएको छ । 

“अघिल्लो वर्ष २१ मुरी धान फलाएकी हुँ, यस वर्ष मुस्किलले आठ मुरी मात्रै फल्यो,” स्थानीयवासी विष्णुकुमारी लम्सालले भन्नुभयो, “कुलो नहुँदा अन्न उब्जाउन समस्या भएको छ ।” 

नहरको मूल झण्डै पाँच किलोमिटर टाढा लमाए खोलामा रहेको छ । विगत चार वर्षअघि नहर बनेपछि किसानले मौसमी, बेमौसमी तरकारी तथा खाद्यबालीबाट पर्याप्त आम्दानी गर्दै आएका थिए । मुडिकुवाका सिर्सुवा, एक्लेफाँट, तल्लोसेरा, बाह्रबिसे, नौबीसे, छबीसे, सातबीसेलगायत फाँट अझै सिँचाइको अभावमा बाँझै छन् । तरकारी बेचेर आम्दानी गर्ने यहाँका कृषक अहिले बजारबाट किनेर खानुपर्ने अवस्थामा पुगेका स्थानीयवासी घनश्याम भुसालको भनाइ छ । 

सडक निर्माणको ठेक्का लिएको कम्पनी आशिष फेवा नयाँबाटोले बिग्रिएको कुलो मर्मत गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने गरेको छैन । आयोजनाका प्रतिनिधि नीलकुमार राईले नहर मर्मतमा आयोजना पक्ष सकारात्मक भएको बताउनुभयो । “हामीले त्यतिबेलै मर्मत गरिदिन्छौँ भनेका हौँ” उहाँले भन्नुभयो, “उपभोक्ता आफैँले बनाउँछौँ भनेपछि उहाँहरूकै जिम्मा लगाएका हौ ।” रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!