सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

Posted on: 25 Jan, 2018

माघ ११, पाल्पा | रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उहाँकै भरमा चलेको छ । उहाँ सुन्न र बोल्न सक्नुहुन्न तर पनि उहाँले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन । 

शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उहाँले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आउनुभएको छ । उहाँ तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिनुहुन्छ । डोटेलको कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता आश्चर्यचकित पार्नेखालको छ । 

डोटेलले तरकारी लगाएर छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गर्नुभएको छ । तरकारी खेतीका अलवा अहिले उहाँले तीनवटा दुहुना भैँसी, ५०० कुखुरा र नौवटा बाख्रा पाल्दै आउनुभएको छ । डोटेलले अहिले दैनिक २० लिटर दूध बिक्री गर्नुहुन्छ । उहाँले वार्षिक रु चार लाखसम्म आम्दानी गर्नुहुन्छ । 

साढे दुई वर्षको उमेरमा मेनेन्जाइटिस रोगबाट ग्रसित डोटेलले विभिन्न ठाउँमा उपचार गरे पनि निको नहुदा जीवनभर सुन्ने र बोल्ने क्षमता गुमाउनुभएको छ । छोराको व्यवसायबाट आमा भगवती निकै खुशी हुनुहुन्छ । 

“छजना सन्तानमध्ये एटा छोरो मानसिक रुपमा अशक्त भए पनि उसको व्यवसायले मनमा हौसला बढ्दै गएको छ”, भगवतीले भन्नुभयो “सानोमा मज्जाले बोल्ने सुन्ने छोरो रोग लागेर जीवनभर सुन्न र बोल्न नसक्ने भए पनि काम, मेहनत र लगनशीलता देख्दा निकै खुशी लागेको छ ।” 

शशिराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्नका लागि आफै मोटरसाइकल चलाएर बजार पुग्नुहुन्छ । कक्षा ८ सम्मको शिक्षा लिनुभएका उहाँलाई श्रीमती दुर्गाले साथ दिँदैआउनुभएको छ । बैंकिङ कारोबारदेखि घरायसी व्यवहार उहाँ आफैले गर्दै आउनुभएको छ । 

“सुन्न र बोल्न नसक्ने भए पनि काम र लगनशीलता सवलाङ्ग व्यक्तिको भन्दा कम छैन,” उहाँले भन्नुभयो । शशिराजले सामुदायिक कृषि सहायक तीन महिने तालीम पूरा गर्नुभएको छ । यसले व्यवसाय गर्न सजिलो भएको छ । उहाँको व्यवसाय प्रशंसायोग्य मात्र नभई सबैका माझ नमूना बनेको छ । मान्छेले भित्री मनदेखि नै इच्छा शक्ति देखाएर काम गर्यो  भने व्यवसायमा सफल भइन्छ भन्ने उदाहरणीय पात्र शशिराज बन्नुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!