कष्टकर जीवन जीउने रत्ननगरका मुसहरलाई अब ‘नमूना गाउँ’

Posted on: 26 Jan, 2018

नारायण ढुंगाना / माघ १२, चितवन | चितवनको रत्ननगर नगरपालिका –७ की वैशाखी माझी (मुसहर) आज चिसो मौसममा सानो झुप्रो अगाडि जाडो छल्न बिहानीको पार ताप्दै हुनुहुन्थ्यो ।

बाँसका कुहिन लागेका भाटा तेस्र्याएर त्यसमाथि च्यातिएको त्रिपाल बेरेको घर उहाँको हो । राति शीत पनि चुहिन्छ । भित्र एकजना मात्रै बल्लतल्ल बस्न सकिएला । आगो फुक्यो भने ज्वालो सोझै त्रिपाल छेडेर निस्कनेखालको छ । यस्तो कष्टकर जीवन बित्दैछ वैशाखीको । 

यहाँका दुई दर्जन बढी मुसहर परिवारको दैनिकी यस्तैयस्तै छ । त्यसमध्येको एक वैशाखीजस्ता धेरैको जीवन अत्यन्तै कष्टकर छ । राम्रो घर नभएको र कोठा पनि नभएकाले परिवारमा सासु, ससुरा छोरी, बुहारी, छोरा सबै एकै स्थानमा सुत्नुपर्ने बाध्यता छ । 

यसरी कष्टकर जीवन गुजार्ने उनीहरुका लागि भने अहिले ‘नमूना बस्ती’ बन्ने खबरले मुसहरहरु फुरुङ्ग छन् । “घर बन्छ रे अब हाम्लाई, वैशाखीले खिस्स हाँस्दै भन्नुभयो, बनेपछि नयाँ घरमा बस्ने ।” 

ती मुसहरलाई चितवनका विभिन्न छवटा रोटरी क्लबको अगुवाइमा नयाँ घर बन्न लागेको छ । यहाँको रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटले ‘रोटरी मुसहर नमूना गाउँ’ बनाउन शुरु गरेको हो । 

आज रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ का डिस्ट्रिक गभर्नर सञ्जय गिरीद्वारा शिलान्यास भएको छ । नमूना बस्ती चार महिनामा पूरा गर्ने योजना रहेको रोटरी इन्टरनेशनल जोन २० का सहायक गभर्नर तथा कार्यक्रम संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

मुख्यगरी शुरुमा अति कष्टकर जीवन गुजार्दै आएका १२ परिवारका लागि घर निर्माण हुन लागेको छ । त्यसपछि छवटा घर थपेर १८ घर निर्माण गर्ने योजना रहेको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । 

यस्तो बन्छ घर 

एउटा घरमा भान्सा कोठासहित तीनवटा कोठा हुन्छन् । शौचालय एउटा छ । बाल उद्यान समिति सामुदायिक भवनसमेत निर्माण गरिनेछ । नमूना बस्ती बनाउने योजनासहित आजदेखि काम थालिएको रोटरियन पूर्ण रिजालले बताउनुभयो । 

यसका लागि प्रतिघर रु तीन लाख लाग्ने अनुमान गरिएको छ । घर निर्माणको खर्च विभिन्न रोटरी क्लब र रोटरियनबाट प्राप्त भएको छ । मुख्यगरी कूल लागतको ५० प्रतिशत रकम हस्तबहादुर भट्ट प्रतिष्ठानले व्यहोर्ने छ । 

अन्यमा इन्टरनेशनल ३२९२ बाट रु दुई लाख, पूर्व सांसद उमेश श्रेष्ठबाट रु तीन लाख, रोटरी क्लब अफ काठमाडौं मेट्रोबाट रु दुई लाख, आयोजक छ वटा रोटरी क्लबबार रु एक, एक लाख, प्रकाश अर्यालको अग्रसरतामा रु तीन लाख, एनआरएनए जापानका विष्णु भट्टराईबाट रु एक लाख आठ हजार सहयोग प्राप्त भएको छ । 

चितवनको सौराहा नजिकै रत्ननगर–७ को मालपुरमा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाउन लागिएको हो । 

यी बनेका घरमा जीवन मुसह, विगवा, राजु, भदै मुसहर, सुखारी, कार्की, तेजबहादुर, रुपलाल, पतिराम, लक्ष्मण र बलराम मुसहर बसोबास गर्ने जनाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!