किबी जोन सञ्चालन हुने भएपछि इलामका कृषक खुशी

Posted on: 27 Jan, 2018

माघ १३, इलाम । व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका हुन् । व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

पाँच सय हेक्टर क्षेत्रफलमा जोन क्षेत्र फैलने जनाइएको छ । जोन स्थापना भएपछि कृषि पूर्वाधार र यान्त्रीकरणमा सहुलियत पुग्ने किबी फ्रुुट एशोसिएशनका केन्द्रीय सदस्य देवकुमार राईले बताउनुभयो । 

जोनले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गरिने बताइएको छ । 

किबी जोनअन्तर्गत किबीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शत प्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशर मग्रातीले बताउनुभयो । 

यहाँ प्रतिहेक्टर एक दशमलव ५३ मेटिक टन किबीको उत्पादकत्व रहेको छ । जिल्लाका जमुना, सुलुबुङ, मावु, माईमझुवा, लुम्दे, आमचोकलगायतका गाउँमा किबीको व्यावसायिक खेती शुरु गरिएको छ । 

किबी खेतीमा कृषकको बढ्दो आकर्षणसँगै व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), कमर्सियल एग्रिकल्चर एलाइन्सजस्ता संस्थाले यस अघि किबी खेतीका लागि लगानी गर्दै आएका छन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!