मोरङ: कस्तो अचम्म, माघमा पनि रोपाइँ !

Posted on: 02 Feb, 2018

माघ १९, मोरङ । माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ ।

मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न व्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् ।

रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्षदेखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आएका छन् । केवरतका अनुसार १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरिएको छ ।

घुटराज धान रोपेका उनले वैशाख अन्तिममा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको बताए । अहिले खेती गर्न धेरै मेहनत गर्नुपर्ने र खर्चसमेत बढीनै गर्नुपर्ने भएको उनको भनाइ छ । सो खेतमा ६० मनदेखि ८० मनसम्म धान उत्पादन हुने गरेको छ ।

अहिले वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदूरसमेत नपाउने गरेको र मजदूर नहुँदा खेतीपाती गर्न समस्यासमेत परेको केवरत बताउँछन् । धान रोपिसकेपछि सो धानमा हाल्ने औषधि र मल नेपाल सरकारले समयमै उपलब्ध नगराउँदा कृषकले चर्को मूल्यमा किन्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।

सिँचाइका लागि मोटर लगाएर पानी हाल्नुपर्ने हुनाले विद्युत् आपूर्तिको समेत अभाव हुनाले खेती गर्न समस्या रहेको उनले बताए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!