दाङमा तोरीको उत्पादन घट्दो

Posted on: 13 Feb, 2018

फागुन १, दाङ | कुनै समय तोरी बालीको लागि प्रख्यात दाङमा पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ । 

किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । यहाँको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । दाङको तोरीको तेल नेपालमै प्रचलित थियो । पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर भएको कृषि विकास कार्यालयले जनाएको छ । 

पहिले तोरीको तेल कपालमा लगाउने चलन थियो । यहाँको तोरीको तेल विदेशमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समयमा स्थानीयवासीले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयाविनको प्रयोग गर्न थालेको स्थानीयवासी यज्ञबहादुर थापा बताउनुहुन्छ । 

राधा कृष्ण तेलमिल सञ्चालन गर्दै आउनुभएका केशव सापकोटाले तोरी उत्पादन घट्दै गएको बताउनुभयो । उहाँले हाल प्रतिलिटर तोरीको तेलको मूल्य रु २०० भएको बताउनुभयो । स्थानीयवासीले सस्तो मूल्य खोज्ने भएका कारणले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको छ । मिलमा तोरी पेल्न र तेल किन्न आउनेको संख्या घट्दै गएको उहाँको भनाइ छ । 

जिल्ला कृषि विकास कार्यालयले विभिन्न कारणले तोरी उत्पादन घट्दै गएको जनाएको छ । तोरी खेती घट्दै गएको कार्यालयमा सूचना अधिकारी भरतमणि पोख्रेलले बताउनुभयो । गत वर्ष १८ हजार हेक्टरमा गरिएको तोरी खेतीबाट १९ हजार २८२ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष २१ हजार मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । 

तोरी उत्पादन घट्नुमा जग्गा पल्टिङ, प्राङ्गारिक मल र सिँचाइको समस्या मुख्य रहेको बाली संरक्षण अधिकृत पीताम्बर बस्नेतले बताउनुभयो । दाङमा तोरी खेती गर्ने जग्गा प्लटिङ हुनु, माटो बिग्रिनु र असन्तुलित रासायनिक मलको प्रयोग गर्नाले तोरीको उत्पादन घट्दै गएको उहाँको भनाइ छ । कार्यालयले किसानलाई तोरी उत्पादन बढाउन उन्नत बीउ वितरण गर्दै आएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!