चैत १ देखि २० वर्ष पुराना सवारी ‘सीज’ गरी लिलाम गर्ने विभागको तयारी

Posted on: 25 Feb, 2018

फागुन १३, काठमाडौँ | यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ । 

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । 

“चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे ‘सीज’ गरी सरकारले लिलाम गर्छ, यसैले फागुन मसान्तसम्म पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो । 

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनामा समेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । 

उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहनुभएका रामबहादुर थापाले सुनाउनुभयो । 

विभागका महानिर्देशक भट्टराई विसं २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको स्वीकार्नु हुन्छ । 

नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो । गत वर्ष उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्ने विभागले जनाएको छ । 

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले बताउनुभयो । 

हाल देशभर २० वर्ष पुराना सवारी साधन पाँच हजार ५०० गुडिरहेको विभागले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!