कञ्चनपुरमा ४ लाख बराबरको आलुको बीउ उत्पादन

Posted on: 11 Mar, 2018

फागुन २७, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले रु चार लाख बराबरको ८० क्विन्टल आलुको बीउ उत्पादन गरेको छ । 


कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रुपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन । 

कार्डिनल २०, आइपिवाई आठ ३० र खुमल उज्ज्वल ३० गरी ८० क्विन्टल आलुको बीउ उत्पादन गरिएको समूहका अध्यक्ष पुरनबहादुर डगौराले बताउनुभयो । पहिलो पुस्ताको बीउबाट १५ वर्षसम्म खेती गरी आम्दानी लिन सकिने डगौराले बताउनुभयो । 

समूहका सदस्यलाई पहिलो प्राथमिकता तथा समूहमा बिक्री नभएको बीउ समूह बाहिर बिक्री गर्ने योजना छ । भण्डारण गृहबाटै खरिद गरेर लैजाने किसानलाई प्रतिकिलो रु ३० का दरले बीउ बिक्री गर्ने समूहका सचिव लक्ष्मणसिंह डगौराले बताउनभुयो । शीतभण्डार गृहमा राखेपछि आलुको बीउ प्रतिकिलो रु ५५ मा बिक्री हुन्छ । 

भण्डारण गर्दा लाग्ने शुल्क, ढुवानी र लोडअनलोड गरी आलुको बीउको मूल्यमा वृद्धि हुने डगौराले बताउनुभयो । गतवर्ष समूहले ५० क्विन्टल बीउ उत्पादन गरेको थियो । विसं २०६० देखि आलुको बीउ उत्पादन गर्दै आएको उक्त समूहले बीउ बिक्री गरेर रु १७ लाख ४० हजार रकम समूहको बीउ कोषमा जम्मा गरेको छ । कोषमा जम्मा गरेको रकम व्यावसायिक तरकारीखेती गर्ने समूहका सदस्यलाई न्यून ब्याजमा उपलब्ध गराइन्छ । 

कोषको रकम खर्चेर यहाँका किसान तरकारी खेतीका लागि जिल्लामै चिनिएका छन् । व्यक्तिगत रुपमा व्यावसायिक आलुखेती गर्ने किसानले करिब सात सय क्विन्टल आलु उत्पादन गरेका छन् । यहाँ उत्पादित आलु कञ्चनपुरसहित प्रदेश नं ७ को पहाडी जिल्लामा बिक्री गरिन्छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!