झापा: भैँसीपालनबाट वार्षिक ८ लाख कमाउछन सापकोटा

Posted on: 15 Mar, 2018

चैत १, झापा | मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । 

साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको छ । उहाँले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु आठ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । 

सापकोटाले स्थानीय विद्यालयको ४० बिघा र डा मोहपालको ११ बिघा जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर भैँसीपालन गर्नुभएको हो । उदाहरणीय कृषि फार्म सञ्चालन गरेबापत उहाँ दर्जनौँ संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ । सापकोटाले हालसम्म सरकारी सहयोग प्राप्त नभएको बताउनुभयो । 

फार्म रहेको मेची नदीको किनार पाँच वर्षअघिसम्म उजाडलाग्दो बगर थियो । अहिले भैँसीकै मलका कारण बगर खेतीयोग्य बनेको छ । पाँचगाँछीबाट सुकुम्वासीका रुपमा मेची नदीको किनार आउनुभएका सापकोटाले पशुपालनका लागि शुरुमा निकै दुःख गर्नु गरेको बताउनुभयो । उहाँले २०७० सालमा दुई माउ भैँसीबाट भैँसीपालन शुरु गर्नुभएको हो । 

उहाँले भन्नुभयो, “त्यो बेला दिनको तीन लिटर दूध बेच्थे, दूधको आम्दनीबाट भैँसीको संख्या बढाउँदै लगे ।” दूध मात्र नभएर पाडापाडी बेचेर पनि उहाँले यतिबेला मनग्य आम्दानी गरिरहनुभएको छ । 

हाल उहाँको फार्ममा ४० माउ भैँसी दुहुना छन् । सापकोटाले लैनो भैँसी र गाईबाट हिउँदमा दैनिक ८० देखि एक सय लिटरसम्म तथा वर्षात्मा १३० लिटरसम्म दूध बेच्ने गरेका छन् । भैँसीको दूध प्रतिलिटर रु ६५ का दरले बिक्री हुन्छ । इँट्टाभट्टाको एनएमसी डेरी र धाइजनका रितिका डेरीले दूध खरिद गर्दै आएको छ । 

हिउँदमा किनेको पराल र बर्सातका बेलाको घाँस नै भैँसीको मुख्य आहार भएको उहाँ बताउनुहुन्छ । वर्षमा ९४ ट्र्याक्टर पराल पनि अपुग भएको सापकोटा बताउनुहुन्छ । महिनामा ३० बोरा चोकर, तीन बोरा नुन तथा पिना भैँसीलाई खुवाउने गरिएको छ । मासिक रु ८० हजारभन्दा वढी खर्च हुने उहाँले बताउनुभयो । सापकोटाले रु ६० लाखको पशु बीमा गराउनुभएको छ । राज्यले कृषि क्षेत्रमा लगानी बढाउने घोषणा गरे पनि त्यस अनुरुपको सुविधा किसानले नपाएको उहाँको भनाइ छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!