अछाममा जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था

Posted on: 20 Mar, 2018

चैत ६, अछाम | जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । 

समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहँुदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् । 

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको साफेबगर नगरपालिका–१० घुघुरकोटका स्थानीय कुलराज भट्टले बताउनुभयो । “एक हजारको बथानमा आउने बाँदरको समूहले गहुँबाली खाइसक्यो उहाँले दुःखेसो पोख्नुभयो—“आफूले खान नपाएपछि किन बाँदर र बँदेलको लागि खेती लगाउनु ? दःुख गरेजति उत्पादन हँुदैन त्यसमा पनि जंगली जनाबरले खाएर हैरान पारेको छ ।” सबै काम छोडेर बाँदर भगाउने काममा जुटेका छन् स्थानीयवासी । 

बान्नीगढ जयगढ गाउँपालिका–१ गाज्राका नरबहादुर खड्का पनि बँदेलदेखि हैरान हुनुभएको छ । उहाँले भन्नुभयो– “बँदेलले गाउँलेले बारीमा लगाएको गहुँ र तरकारी एउटा पनि राखेन । एक त समयमै पानी नपर्नाले हामीले मार खेप्नु परेको छ भने अर्काेतिर दःुख गरेर लगाएको खेतीसमेत बँदेलले आएर खान थाल्यो ।” साफेबगर नगरपालिका– ३ कि मंगलादेवी कुँवरले बँदेल भगाउन रातभरी जाग्राराम बस्दा पनि बारीमा लगाएको मकै जोगाउन सक्नुभएन । गाउँ नजिकैको सामुदायिक वन पाल्न थालेपछि जंगली जनावरको विगविगी बढ्न थालेको उहाँले बताउनुभयो । 

नगर प्रमुख कुलबहादुर कुँवरले जँगली जनावरले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासो आउने गरेको बताउनुभयो । यहाँका स्थानीय कृषक जँगली जनावरबाट निकै पीडित बनेका छन् । “म कहाँ धेरै गुनासो आएको छ कुवँरले भन्नुभयो सिँचाइको अभाव, जलवायु परिवर्तनका कारण उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली र बसाइँसराइका कारण पनि खेतीयोग्य जमिन बाझै रहेका छन् त्यसमाथि बँदेल बाँदरको आतंकले थप समस्या सिर्जना गरेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!