बर्दिवासमा सामूहिक गाईपालन

Posted on: 27 Mar, 2018

चैत १३, बर्दिवास | महोत्तरीको बर्दिवास–८ हाथीलेट लटियानीटोलमा ओम नुङ्गेली मगर, वीरेन्द्र महतो, सत्यनारायण महतो, राजनारायण महतो र दिलबहादुर किङ्रिङ मगरले सामूहिक रुपमा गाईपालन गर्नुभएको छ । 

उक्त समूहले हालेस्टेन र जर्सी जातका २० वटा गाई, आठवटा बाच्छाबाच्छी तथा दुईवटा साँढेसमेत पालेको छ । तिनको सम्भारमा पाँचजना गोठालालाई भ्याइनभ्याइ छ । 

पाँच बिघा जग्गामा पाँचजना किसानले गाई दुहुने, गोठ सफा गर्ने र गाईको आहार व्यवस्थापन गर्दैआएका छन् । आठवटा दुहुना गाईबाट ८० लिटर दूध दुहिने गरेको ओम नुङ्गेली मगरले बताउनुभयो । 

पाँच जनाको समूहले सञ्चालन गरेको प्रगतिशील गाईपालन समूह अहिले जिल्लाकै पशुपालक किसानका लागि प्रेरणा बनेको छ । आधुनिक गोठ बनाएर गाईपालन शुरु गरेका यी पाँचमध्ये ओम नुङ्गेलीले दुग्ध व्यवसायमै भविष्य देखेर घरमा समेत चारवटा भैँसी पाल्नु भएको छ । 

कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको गाईपालन तथा दुग्ध उत्पादन उपआयोजनाको सहयोगमा सामूहिक र संस्थागत रुपमा गाईपालन शुरु गरेको सो समूहका अध्यक्ष दिलबहादुर किङ्रिङ मगरले बताउनुभयो । 

समूहले गर्भाधानका लागि दुईवटा हेलेस्टेन जातका उन्नत साँढे पनि आफ्नै गोठमा पालेको छ । साँढे गोठका आफ्ना गाईका अतिरिक्त छरछिमेकका किसानका घरपालुवा गाईमा पनि प्रजनन गराउने सुविधा दिने गरिएको छ । गाईको स्वास्थ्य जाँचपछिमात्र सो सुविधा दिने गरिएको किङ्रिङले बताउनुभयो । 

एक बिघा पाँच कट्ठा क्षेत्रफलभित्रको आधुनिक गोठ परिसरमै थरिथरिका घाँस खेती गरिएको छ । जिल्ला पशु सेवा कार्यालय महोत्तरीको सिफारिसमा लगाइएका डाले, लहरे र बन्से घाँस काटेर गोठअघि ल्याइनासाथ मेसिनले टुक्र्याएर गाईको आहार बनाइन्छ । अहिले दूधबाट दैनिक रु आठ हजार आम्दानी भइरहेको गोठ सम्भारमा संलग्न वीरेन्द्र महतो बताउनुहुन्छ । 

नगरपालिका क्षेत्रभित्र भए पनि ग्रामीण परिवेशको लटियानीमा किसानले सामूहिक रुपमा सञ्चालन गरेका आधुनिक गोठ र यहाँका गाई हेर्न टाढाटाढाबाट किसान आउने गरेका छन् । सो समूहले प्याक्टको रु ३४ लाख ९९ हजार अनुदान तथा आफ्नो रु ३६ लाख ४४ हजारको लागतमा गाईपालन व्यवसायमा शुरु गरेको हो । 

जिल्लामा परम्परागत रुपमा मात्र पशुपालन हुँदै आएको परिवेशमा लटियानीमा सञ्चालित सामूहिक र संस्थागत गाईपालन व्यवसाय जिल्लाकै लागि नमूना बनेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा जीवनकुमार सिंहले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!