नगरपालिकाले बाँड्यो बाख्रा, बंगुर र कुखुरा

Posted on: 09 Jul, 2018

असार २५, बिर्तामोड । कृषि तथा पशुपालनको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको बिर्तामोड नगरपालिकाले नगरका बडा नं ७, ८, ९ र १० नं बडाका ८५ जना कृषकलाई बाख्रा, बंगुर र कुखुरा बितरण गरेको छ । 

मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत बडा नं ७, ८ र ९ का तीनबटा समूहका ४५ जना बाख्रा पालक किसान छनौट गरी ३ बटाका दरले बाख्रा बितरण गरिएको नगरपालिकाकी पशु सेवा अधिकृत सानुमाया श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बंगुर पकेट कार्यक्रम अन्तरगत बडा नं ६ र १० का दुइबटा समूहका ३० जनालाई बंगुर प्रदान गरिएको छ । साथै, बडा नं १० को एउटा समूहका १० जना किसानलाई २० बटाका दरले लोकल जातका कुखुराका चल्ला बितरण गरिएको पशुसेवा शाखाले जनाएको छ । 


यस कार्यक्रम अन्तरगत बाख्रा पालक किसानहरुको तीन दिने तालीम गरामनीमा सूरु भएको छ । सो कार्यक्रमको नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले उद्घाटन गर्नुभयो । उहाँले नगरको तल्लो क्षेत्रलाइृ कृषिमा आत्मनिर्भर बनाउँदै लैजान एकीकृत कृषिको प्याकेज लागू गरिएको बताउनु भयो । उहाँले कृषि र पशु पालनलाई प्राथमिकता दिने बजेटको सीमा भित्र रहेर बडा नं ६, ७, ८, ९ र १० का जनतालाई केन्द्रित गरेर यस्तो अभियान चलाइएको जानकारी दिनुभयो । 

 उप प्रमुख पबित्रादेबी महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, पबित्रा पाठक लगायतले मन्तब्य राख्नुभएको थियो । 

नगरपालिकाले करीब ३५ लाख बराबरको ब्रोयर जातका बाख्रा, कुखुरा र बंगुर बितरण गरेको जनाइएको छ भने यस कार्यक्रम अन्तरगत समेटिएका कृषकले एकदेखि डेढ बर्ष भित्रमा ती बाख्रा, बंगुर र कुखुरा समूहका अन्य कृषकलाई फिर्तागर्नु पर्ने छ । साथै, यस कार्यक्रम भित्र पाठा बितरण मात्र नगरी आधुनिक खोर निर्माणका लागि पनि सहयोग गरिएको छ भने टाट्ना, घाँस पालन लगायतलाई एकीकृत प्याकेजका रुपमा समाबेश गरिएको श्रेष्ठले बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!