दाङका किसानले लगाएका मकैबालीमा डाँठ कुहिने रोग देखियो

Posted on: 12 Aug, 2018

साउन २७, दाङ | तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । 

डाँठ कुहिने रोगका कारण यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा लगाइएको मकैमा डाँठ कुहिने रोग देखा परेको स्थानीयवासी कर्णबहादुर वलीले बताउनुभयो । भखरै फल्न थालेको मकै डाँठ कुहिने रोगले सखाप भएपछि किसान चिन्तित भएका छन् । 

किसानले तुलसीपुरका विभिन्न एग्रोभेटबाट कञ्चन र राजकुमार जातका मकैको बीउ लगाएका थिए । उहाँले भन्नुभयो, “पर्याप्त उत्पादन हुन्छ भनेर मकैको बीउ लगायौँ, डाठ कुहिने रोगले सखाप पार्यो ।” स्थानीयवासी प्रवीन केसी, टेकबहादुर वली, शेरबहादुर वलीलगायतले साढे चार बिघा र कर्णबहादुर वलीको एक बिघाको मकैबाली नष्ट भएको छ । रोग लागेपछि मकैको डाँठ कालो हुने र कुहिँदै जान थाल्छ ।

तुलसीपुर कृषि शाखामा किसानले गुनासो गर्दैआएका छन् । समयमै माटो परीक्षण गरेर मकै लगाउँदा रोगबाट बच्न सकिने शाखा प्रमुख तिलक केसीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!