पाँचथरका चिया कृषक समस्यामा

Posted on: 23 Aug, 2018

भदौ ७, पाँचथर | सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् । 

चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या झेल्नु परेको गुनासो गरेका छन् । एकातिर राज्य चिया खेती र कृषकसँग उदासीन छ भने अर्कोतिर कृषकले चिया खेती व्यावसायिकरुपमा गर्न नसकिएको बताएका छन् । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने नाम्फुयक चिया सहकारीका सचिव सुवास तुम्वापोले बताउनुभयो । 

उहाँले भन्नुभयो, “श्रमिकको समस्याले चिया खेतीमा भने जस्तो ढङ्गले विस्तार र सुधार हुन सकेको छैन् ।” चिया तथा कफी विकास वोर्ड चिया विस्तार आयोजना लालीखर्कका प्रमुख प्रेमकुमार थिङका अनुसार चिया क्षेत्रमा राज्यले विभिन्न आकर्षणसहितका अनुदान, तालीम गोष्ठी र सेमिनार सञ्चालन गरे पनि पनि स्वयं किसानको आकर्षण घट्नु, वैदेशिक रोजगारीका क्रममा युवा विदेश पलायन हुनु जस्ता कारण चिया उत्पादनमा ह्रास आइरहेको बताउनुभयो । 

चिया उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष नन्दकुमार आङथोपुले चिया प्रशोधनका लागि कारखानामा दक्ष प्राविधिक नहुनु र चियाको मूल्य निर्धारणमा पहुँच नपुग्दा कृषकले उचित मूल्य पाउन नसकेको बताउनुभयो । विश्वका धेरै ठाउँमा चियासम्बन्धी अध्ययन–अध्यापन भए पनि नेपालजस्तो पर्याप्त चिया उत्पादन हुने देशमा त्यस्तो सहज अवस्था नहुनुले थप समस्या उत्पन्न भएको उहाँको भनाइ छ । 

राष्ट्रिय चिया नीति, २०५८ नै परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष आङथोपुले साना किसानले कम्तीमा पनि ३५० रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने नीतिमा उल्लेख भएकाले साना चिया कृषक मारमा परेको बताउनुभयो । कृषि मजदुरलाई लिङ्गका आधारमा ज्यालामा समेत विभेद गर्ने भन्दै फिदिम–५ की फूलकुमारी तुम्वापोले समान काममा पुरुषलाई रु ३०० ज्याला दिएकामा महिलालाई रु १५० मात्र दिएर विभेद गरेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!