बागलुङ दूधमा आत्मनिर्भर

Posted on: 04 Oct, 2018

असोज १८, बागलुङ | बागलुङ दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा खपतभन्दा उत्पादन धेरै भएपछि दूधमा आत्मनिर्भर भएको हो ।

जिल्लामा दैनिक ६६ हजार ८१६ लिटर दूध आवश्यक भए पनि ६८ हजार ८४ लिटर दूध उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ । गाईवस्तुको उचित स्याहारसुसार, आहारामा सुधार र दूध उत्पादनतर्फ युवा आकर्षित हुनाले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले भन्नुभयो, “दूधको खपतभन्दा उत्पादन धेरै छ । केही क्षेत्रमा उत्पादन हुने दूध पर्वत र गल्ुमीमा समेत खपत हुने गरेको छ ।” 

एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध आवश्यक भएपनि जिल्लामा प्रतिव्यक्ति ९३ लिटर दूध पुग्ने उत्पादन भइरहेको पशु प्राविधिक केशव शर्माले बताउनुभयो । यही अवस्थामा दूध उत्पादनमा वृद्धि भएमा दूधको निर्यात गर्न समयस्या नहुने उहाँको भनाइ छ । बागलुङ बजारमा मात्र आवश्यक ५० प्रतिशत दूध जिल्लाका सहकारीले उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष युक्त कँडेलले बताउनुभयो । सहकारीमार्फत दूध उत्पादन तथा वितरण गर्दा कृषकलाई आर्थिकरुपमा बढी फाइदा हुने भन्दै कृषक सहकारीका माध्यमबाट दूध उत्पादन तथा वितरण गर्न प्रोत्साहित भएको कँडेल बताउनुहुन्छ । 

हाल बागलुङ बजारमा मात्र दैनिक छ हजार लिटर दूध आवश्यक पर्दछ । दुई हजार ५०० लिटर दूध जिल्ला सहकारी सङ्घमा आबद्ध १३ दुग्ध उत्पादक सहकारीले उत्पादन गरिरहेका छन् । दूध उत्पादनबाट व्यवसायीले मनग्य आम्दानी गर्न थालेपछि विदेश गएर फर्केका युवा पनि गाई, भँैसी फार्म स्थापना गर्न थालेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!