कृषकलाई दश हजार बोट स्याउ निःशुल्क

Posted on: 13 Feb, 2019

फागुन १, हुम्ला (रासस) | सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बोट वितरण गरेको छ । 

जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि बोट वितरण कार्य शुरु गरेको सिमकोट गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले बताउनुभयो । 

सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा नं १ देखि ८ सम्मका कृषकलाई दश हजार स्याउका बोट, दुई हजार चालिस ओखरका बोट वितरण गरिएको कृषि शाखा प्रमुख शाहीले बताउनुभयो । सिमकोट गाउँपालिकाभित्र रहेको १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरिएको हो । 

सिमकोट गाउँपालिकाले निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउ खेती गर्ने कृषकलाई कृषकलक्षित कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!