अब जमीन उपयोग गर्न नसक्नेले बैंकमा राख्न पाउने, राखेवापत पैसा पाइने

Posted on: 10 Mar, 2019

फागुन २६, काठमाडौँ (रासस) | प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

भूउपयोग विधेयकमाथिको छलफलमा सांसद दिव्यमणि राजभण्डारीले छलफलविना समिति र संसद्बाट विधेयक पारित हुने गरेकामा आपत्ति जनाउनुभयो । सांसदलाई पर्याप्तमात्रामा छलफल गर्न दिनुपर्ने उहाँको भनाइ थियो । 

सांसद प्रेम सुवालले शहरीकरण र औद्योगिकीकरण गर्नु नहुने ठाउँमा भइरहेको बताउनुभयो । सतहत्तर लाख युवा वैदेशिक रोजगारमा गएकाले खाद्यान्न उत्पादनको वातावरण उहाँले नभएको बताउनुभयो । “मालपोतमा सार्वजनिक जग्गा लेखिएको पनि व्यक्तिले पास गरेर लिँदा सरकारले खारेज गर्न सकेन, उपत्यकाका पोखरी, सम्पदालगायतको संरक्षण हुन सकेन”, सांसद सुवालले भन्नुभयो । 

सांसद सञ्जयकुमार गौतम र पुष्पा भुसालले भूमिसम्बन्धी कानूनलाई एकीकृत रुपमा ल्याउन माग गर्नुभयो । मुलुकलाई समृद्ध बनाउने र व्यक्तिले जीवनयापन गर्ने विषय हतारमा पर्याप्त छलफल नगरी पारित गरिएको उहाँहरुको भनाइ थियो । 

छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री अर्यालले जमीन बाँझो राख्न नपाउने व्यवस्थाका लागि जनचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुभयो । “जमीन उपयोग गर्न नसक्नेले भूमि बैंकमा राख्न पाउने व्यवस्था गरिएको छ, राखेवापत निश्चित शुल्क जग्गाधनीलाई दिइनेछ, पछि आफैँले जग्गा फिर्ता लिन चाहे पनि पाइनेछ”, उहाँले भन्नुभयो । 

यसअघि बैठकमा मन्त्री यादवले प्रस्तुत गरेको “सेफ गार्डस, एण्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५” र अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो । 

विधेयकमाथिको छलफलमा सांसद राजभण्डारी, भरतकुमार शाह, पदम गिरी, गजेन्द्रबहादुर महत, देवप्रसाद गुरुङ र रेणुका गुरुङले भाग लिनुभएको थियो । सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले आफैँ लेखापरीक्षक तोक्ने व्यवस्था गरिएको बताउनुभयो । 

‘सेफ गार्डस, एण्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ ले नेपाली उत्पादनको सुरक्षा र विदेशी वस्तुको प्रभावका कारण नेपाली वस्तु थुप्रने अवस्थाको अन्त्य गर्न योगदान गर्ने मन्त्री यादवले बैठकमा जानकारी दिनुभयो । विश्व व्यापार सङ्गठनमा हस्ताक्षर गर्नेबित्तिकै विधेयक आउनुपर्नेमा ढिलाइ भएको उहाँको भनाइ थियो । 

बैठक आजै दश मिनेटसम्मका लागि स्थगन गरिएको सभामुख कृष्णबहादुर महराले घोषणा गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!