बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

Posted on: 30 Jun, 2019

असार १५ बैतडी | यहाँ ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार रोपाइँ हुने कूल क्षेत्रफलमध्ये ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्दा यो वर्ष रोपाइँ ढिला शुरु भएको हो ।  सिँचाइ सुविधा भएका स्थानमा जेठ तेस्रो सातादेखि रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्द बताउनुहुन्छ । 

दशरथचन्द नगरपालिकाको सेरा, रातामाटा, पञ्चेश्वर, गोकुलेश्वरलगायत महाकाली, सुर्नया र जमाडी नदी छेउछाउमा चैते मकै भित्र्याएपछि रोपाइँ हुन्छ । असारदेखि साउनको पहिलो सातासम्म रोपाइँका लागि उपयुक्त समय मानिने गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थान, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीको पकेट क्षेत्रका रुपमा रहेका छन् ।  बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । दश हजार हेक्टर सिँञ्चित क्षेत्रफलमध्ये सात हजार हेक्टरमा धानखेती र बाँकी तीन हजार हेक्टर क्षेत्रफलमा तरकारी तथा अन्य खेती हुँदै आएको छ । बैतडीमा मकैपछिको दोस्रो मुख्य खाद्यबालीका रुपमा धानबालीलाई लिइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!