भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब

Posted on: 04 Jul, 2019

असार १९, काठमाडौँ | भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतले नेपाललाई दबाब दिएको छ । भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको हो । 

नेपालस्थित भारतीय दूतावासले नेपाल स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको छ । असार १४ गते दूतावासले मन्त्रालयलाई पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने भन्दै पत्र पठाएको छ ।

दूतावासले नेपालको सीमानाकामा भारतबाट आएको तरकारी र फलफूल परिक्षणपछि मात्र नेपाल भित्रन दिने निर्णयले आफ्नो देशको किसान तथा व्यवसायीले ठूलो क्षति ब्यहोरेको बताएको छ । भारतीय दूतावासले विषादी परीक्षण गर्नुको कारण पुष्टि गर्न पनि मन्त्रालयलाई आग्रह गरेको छ ।

सरकारले निकासी–पैठारी आदेश संशोधन गरेर ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । असार ३ देखि कार्यन्वयनमा आएको उक्त व्यवस्थापछि भारतबाट नेपाल भित्र्याउन लागिएको तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेनरहरुको भन्सार जाँच पास रोक्दै आएको छ । 

नेपालको मुख्य सहरी तथा तराई क्षेत्रमा भारतीय तरकारीकै भरमा बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले नेपालको बजार ओगटेको छ। सिमामा बिना परिक्षण भित्रिने यस्ता खाद्ध सामग्रीले नेपालीको स्वास्थ्यमा प्रतिकुल असर गर्ने गरेको छ । पछिल्लो पटक सिमानाकामा परिक्षण भएसँगै त्यसको खुलेर प्रसंशा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!