भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।  

सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफुलको बिषादी परिक्षण कार्य स्थगन हुने भएको छ । सरकार आफ्नै निर्णयबाट पछाडी हटेपछि आम नागरिकहरुले सामाजिक संजालमा आलोचना गरेका छन् । पूर्वतयारी नगरी बिषादी परिक्षणको निर्णय गरेर अहिले तयारी नपुगेको भन्दै आफ्नै निर्णय उल्ट्याएको भन्दै सरकारको आलोचना भएको हो ।  

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । बिहिबार बिभिन्न संचार माध्यममा भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब भन्ने शिर्षकमा समाचारहरु आएका थिए ।

भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको समाचारमा उल्लेख थियो । समाचार अनुसार नेपालस्थित भारतीय दूतावासले नेपाल स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको थियो । गत असार १४ गते दूतावासले मन्त्रालयलाई पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने भन्दै पत्र पठाएको थियो ।

भारतीयको दवाबपछि आफ्नै निर्णयबाट पछी हटेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राविधिक तयारी नपुगेको जानकारी मन्त्रिपरिषद्लाई गराएको थियो । मन्त्रिपरिषद्को बैठकले यही सुझावको आधारमा निर्णय फिर्ता लिएको बुझिएको छ । मन्त्रालयले आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन भएको कारण देखाउदै आफ्नै निर्णय फिर्ता लिएको बुझिएको छ  । 

मन्त्रालयको निर्णयसँगै पुरानै प्रक्रियाबाट भारतबाट आयात हुने तरकारी/फलफुल नेपाल भित्रने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!