जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात, मार्सी धान भित्र्याउन भ्याइनभ्याई

Posted on: 22 Oct, 2019

विजय रावत | कात्तिक ५, जुम्ला | जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

आर्थिक वर्ष २०७४/७५ मा रु १६ करोड र आव २०७५/७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई आवको तुलनामा यस वर्ष स्याउबाट करीब रु १७ करोड आम्दानी बढी भएको छ ।” पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । 

जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले रु चार देखि रु छ लाख बराबर कमाएका छन् । तिला गाउँपालिका–१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करीब रु दुईदेखि रु चार लाख कमाएको जानकारी दिनुभयो ।

बार्ह हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क पनि विगत दुई वर्षयताकै धेरै छ । जम्मा उत्पादित स्याउको ७० प्रतिशत अर्थात आठ हजार ५४७ मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेको थियो ।  असोज अन्तिमसम्मको तथ्याङ्कअनुसार जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ मात्रै निर्यात भएको छ । 

सोबाट रु ३४ करोड जुम्ला भित्रिएको छ । जुम्लाको कूल खेतीयोग्य जमीन ३९ हजार ४३५ हेक्टर छ । त्यसको तीन हजार ७०० हेक्टर जमीनमा गरिएको स्याउखेतीमध्ये एक हजार ४४७ हेक्टरमा मात्रै स्याउ फलेको थियो । सरदर रुपमा प्रतिकिसानले ८.२५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन् । व्यापारीले बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरेका थिए ।

मार्सी धान भित्र्याउन भ्याइनभ्याई

जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ । यहाँका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका छन् । मार्सी धान पाकेर दाना झर्ने अवस्था भइसकेर किसानलाई धान काट्न चटारो भएको चन्दननाथ–३ का किसान अम्मर नेपालीले बताउनुभयो । 

“अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ, मार्सी चामलको बजारभाउ प्रतिकिलो रु १२० छ, व्यापारी घरघरमा पुगिसकेका छन्”, उहाँले भन्नुभयो, “मार्सी चामलको जति चर्चा छ उत्पादनमा त्यतिनै मेहेनत खर्चनुपर्छ ।” यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिममा भित्र्याउने गर्छन् ।

वर्षेनी मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हँुदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको चन्दननाथ–६ का किसन जयराज भारतीले बताउनुभयो । कृषि विकास कार्यालयका अनुसार जुम्लामा कूल दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!