दाङका कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

Posted on: 23 Oct, 2019

रीता लामा | कात्तिक ६, दाङ | दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन् । कुखुरापालक किसानको सङ्गठन किसान सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद न्यौपानका अनुसार चल्ला र दानाको मूल्य सप्लायर्सहरुले अस्वाभाविकरूपमा बढाए पनि किसानले उत्पादन गरेको कुखुरामा भने अत्यधिक गिरावट आएको बताउनुभयो । 

उहाँले आफूहरुको माग सम्बोधनका लागि दाना र कुखुराको चल्लाको मूल्य घटाउनुपर्ने वा उत्पादन भएका तयारी कुखुराको मूल्य बढाउनुपर्ने मुख्य माग रहेको बताउनुभयो । किसानका समस्या सम्बोधन नभए कात्तिक १२ गतेबाट कुनै पनि कुखुरापालक किसानले चल्ला खरीद नगर्ने घोषणा किसानले गरेका छन् । यसलाई आफूहरुले कडाइका साथ पालना गर्ने उनीहरुको भनाइ छ । 

पटक–पटक दाना र चल्लाको मूल्यमा वृद्धि हुँदा पनि कुखुराको मूल्यमा गिरावट आएको, सप्लायर्सहरुले समयमा कुखुरा नउठाउने, किसानले तत्काल कुखुराको मूल्य नपाउने, सप्लार्यसहरुले मनपरी मूल्य निर्धारण गर्ने काम गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । यस्तै कुखुरापालक किसानले विभिन्न सात बँुदे माग राखेका छन् । उनीहरुले तयारी कुखुराको मूल्य बढ्नुपर्ने, समयमा तयारी कुखुरा बजारसम्म सप्लायर्सले पुर्याइदिनुपर्ने, कुखुराको रकम तत्काल पाउनुपर्ने, कुखुरा, दाना र चल्लाको मूल्य दैनिक प्रकाशित हुनुपर्ने, बच्चा र दाना गुणस्तरीय हुनुपर्नेलगायतका मागसमेत राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । 

अहिले बजारमा प्रति ५० केजी दानाको मूल्य रु तीन हजार ४५० र प्रतिगोटा चल्लाको मूल्य रु ९० मा किसानले किन्दै आएका छन् । चालीसदेखि ५५ दिनसम्म किसानले पालेका कुखुराको मूल्य भने प्रतिकिलो सरदर रु १८० मात्रै छ । अहिले तयारी कुखुराको मूल्य घोराहीमा रु १९०, तुलसीपुरमा १८० र देउखुरी क्षेत्रमा १७० मा किनबेच हुँदै आएको बताइएको छ । त्यसमा पनि किसानसँग प्रतिकिलो रु १८० मा किनिएको कुखुरा उपभोक्तासम्म आइपुग्दा रु ३०० देखि ३२० सम्म प्रतिकिलो तयारी मासु बिक्री हुने गरेको छ । दाना र चल्लाको मूल्य बढेपछि तयारी कुखुराको मूल्य पनि बढ्नुपर्ने किसानको मुख्य माग छ । 

दाना तथा कुखुरा सप्लायर्स दाङका उपाध्यक्ष महेन्द्र बुढाथोकीले तत्कालका लागि तयारी कुखुराको मूल्य बढाउन नसकिने बताउनुभयो । जिल्लामा कुखुराको उत्पादन अत्यधिक हुँदा बजारले धान्न नसकेको र सोही कारण मूल्य बढाउन नसकिएको उहाँको तर्क छ । यस्तै दाङको तुलनामा अन्य जिल्लाका तयारी कुखुराको मूल्य थोरै भए पनि घोराहीमा आफूहरुले घाटा व्यहोरेर भए पनि किसानलाई धेरै मूल्य दिइरहेको उहाँले जिकिर गर्नुभयो ।

जिल्लामा चल्ला र दाना थोरै मात्रामा उत्पादन भए पनि अरु सबै बाहिर जिल्लाबाट आउने हुँदा दाना र चल्लाको मूल्य आफूहरुले तोकेर निर्धारण नहुने उहाँले बताउनुभयो । कुखुराको दानामा प्रयोग हुने करीब १५/१६ प्रकारका अन्नजन्य पदार्थ सबै भारतको भर पर्नुपर्ने हुँदा पनि दानाको मूल्य चर्को हँुदै गएको दाना सप्लायर्सहरुको भनाइ छ । 

अहिले काठमाडौँ, पोखरा र दाङबाहेक सबै जिल्लामा तयारी कुखुराको मूल्यमा भारी गिरावट आएको र आफूहरुले तयारी कुखुराको मूल्य बढी भनेमा फ्रेस हाउसहरुले जिल्ला बाहिरबाट कुखुरा मगाउने हुँदा पनि समस्या भएको कुखुरा तथा दाना व्यवसायी बताउँछन् । दाना, चल्ला र तयारी कुखुराको मूल्य निर्धारणको काममा सरकारले जिम्मेवारी लिइदिए आफूहरुलाई सहज हुने व्यवसायी बताउँछन् । अहिले दाङभरि करीब दुई हजार किसानले कुखुरा पालिरहेका छन् । दाङमा प्रति हप्ता एक लाख २५ हजार चल्ला जिल्ला भित्रिने गरेका बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!