बर्दियाका कृषकले रोपे चैतेधान

Posted on: 10 Apr, 2020

मानबहादुर चौधरी | चैत २८, बर्दिया | कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउन गरे पनि बर्दियाका कृषकले चैतेधान रोपेका छन् । चैतेधान रोपाइँ गर्न लकडाउनले कुनै समस्या नभएको राजापुर क्षेत्रका कृषक बताउँछन् ।

राजापुर क्षेत्रका गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आर्थिक वर्ष २०७३÷०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन र ०७५÷०७६ देखि निश्चित क्षेत्र बनाएर चैतेधानको खेती गरिँदै आएको छ ।  राजापुर क्षेत्रमा २०७३ सालदेखि तत्कालीन कृषि बिकास कार्यालयले पकेट क्षेत्र बनाएर परीक्षणका रुपमा चैतेधान खेतीको शुरुआत गरेको थियो । 

धान राम्रो उत्पादन हुने देखिएपछि धान सुपर जोन घोषणा गरी किसानको समूह बनाएरै रोपाइँ गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत सरकारले आवश्यक सहयोग गर्दै आएको छ । परियोजनाले किसानको सहभागितामा धान सुपरजोन सञ्चालक समिति बनाएर काम गरिरहेको छ । 

परियोजनामा १९५ समूह र सहकारी आबद्ध रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख टपेन्द्रबहादुर शाहले बताउनुभयो । धान सुपरजोन सञ्चालक समितिको सहसंयोजकसमेत रहनुभएका राजापुर  ३ का ४१ वर्षीय पहारी थारुले एक्लै १२ बिघा जग्गामा चैतेधान खेती गर्नुभएको छ । लकडाउनको पालना गर्दै धान रोप्ने यन्त्रको प्रयोग गरेर रोपाइँ गरिएको उहाँले बताउनुभयो । 

लकडाउनका समयमा घरका परिवारका सदस्य जम्मा भएको हुँदा काम गर्न सहज भएको कृषक बताउँछन् । हरेक किसानले आफ्नै घरपरिवारका सदस्य लगाएर रोपाइँ गरेकाले  कोरोना भाइरसको जोखिमसमेत कम भएको राजापुर ४ का किसान शर्मा थारुले बताउनुभयो ।

गत वर्ष पाँच सय हेक्टर क्षेत्रमा लगाइएको चैतेधान २५ हजार क्वीन्टल उत्पादन भएको थियो । यस वर्ष राजापुर क्षेत्रका दुई स्थानीय तहमा चैतेधान रोपाइँ भएको छ । यस वर्ष ५० हजार क्वीन्टल धान उत्पादन हुने लक्ष्य राखिएको परियोजनाका प्रमुख शाहले बताउनुभयो । कोरोनाविरुद्धको लकडाउनका समयमा चैतेधान रोपाइँ गरिए पनि धानमा राखिने मल नपाइने हो कि भन्ने चिन्ता कृषकलाई छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!