तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान

Posted on: 08 May, 2020

वैशाख २६, धम्बोझी | लकडाउन बढेपछि स्थानीय सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान सञ्चालन गरेको छ ।  बन्दाबन्दीका कारण किसानको तरकारी बारीमै खेर नजाओस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो  ।

तरकारी संकलन तथा बिक्रीका लागि कृषि एम्बुलेन्स जस्तै घुम्ती सेवा अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । अभियानअन्तर्गत नेउलापुर कृषि उपज बजार समितिले किसानको बारीमै पुगेर तरकारी संकलन गर्ने र टोलटोलमा पुर्याउने नगरपालिका कृषि शाखा प्रमुख धरुवराज बमले जानकारी दिनुभयो  । नगर क्षेत्रका विभिन्न किसानले उत्पादन गरेका लौका, बोडी, भिण्डी, करेला, काँक्रा, फर्र्सीलगायत हरिया तरकारी बिक्री हुने गरेको कृषि शाखाले जनाएको छ । नेउलापुर कृषि उपज बजार समितिले तरकारी संकलन र बिक्री उपसमिति बनाएर किसानले उत्पादन गरेका तरकारी संकलन र बिक्रीको जिम्मेवारी दिएको छ ।

लकडाउनले बजार तथा होटल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्री हुन सकेको थिएन । तरकारी बिक्री नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका किसान बारीबाटै बिक्री हुन थालेपछि खुशी भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!