सडक ग्राभेल नहुँदा जिनाबाङमा उत्पादित करोडौंको स्याउ खेर जाने खतरा

Posted on: 23 Jul, 2016

साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र आलु खेर जाने खतरा बढेको छ ।

गाउँमा कृषि सडक निर्माण गरिए पनि ग्राभेल नहुँदा समस्या भएको छ । जिनावाङको नाउलीबाट झ्यामसम्म जाने झण्डै डेढ किलोमिटर सडक हिलाम्मे हुँदा ट्रयाक्टर चल्न छाडेका छन् । मान्छेले बोकेर लैजान समस्या हुने र सडक हिलाम्म हुँदा ट्रयाक्टर लैजानसक्ने अवस्था नरहेको स्थानीय रेशम डिसीले जानकारी दिनुभयो ।

जिनावाङका सचिव कमलराज ओलीले गाविसबाट सडक ग्राभेलका लागि पहल भइरहेको तर गाविसको स्रोतबाट मात्रै ग्राभेल गर्न नसकिने बताउनुभयो । आफूले समस्या जिल्ला विकास समितिमा पु¥याएकाले सडक ग्राभेलका लागि पहल हुने आशा व्यक्त गर्नुभयो ।

तर स्थानीयवासीले भने जिविसले बेवास्ता गरेको आरोप लगाएका छन् । जिल्लामै यति धेरै स्याउ खेती हुँदा पनि अहिलेसम्म आफूहरुले राज्यबाट कुनै सहयोग नपाएको उनीहरुले गुनासो गरेका छन् । ‘सडक नहुँदा स्याउ र आलु बजार पु¥याउन सकिएको छैन, जसले गर्दा धेरै स्याउ बस्तुभाउलाई खुवाएर सकिने गरेको छ’– डिसीले भन्नुभयो । थोरै थोरै डोकोमा बोकेर लैजादा स्याउमा दाग लाग्ने समस्या रहेको पनि उहाँले बताउनुभयो ।

रोल्पाको जिनावाङ गाविसका अधिकांश वडाहरुमा स्याउ र आलु खेती हुन्छ । असारदेखि भदौसम्म स्याउ टिप्ने गरिए पनि बर्षातका कारण सडक हिमाम्मे हुँदा समस्या देखिएको छ । त्यसो त झ्यामदेखि कपुरकोट निस्कने सडक पनि निर्माण सम्पन्न नुहुँदा यहाँका किसानलाई समस्या परिरहेको छ । यो सडकमा करोडौं बजेट खर्च भए पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन ।








यस बिषयमा तपाइको प्रतिक्रिया...!