उखु किसानले भुक्तानी पाएनन्

Posted on: 30 Jul, 2020

साउन १५, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उखु किसानले चिनी उद्योगहरुलाई उधारोमा उखु दिए वापतको करिब रु २२ करोडको  झुक्तानी पाएका छैनन् । 

किसानहरुले उद्योगमा उधारोमा उखु दिए वापत लुम्बिनी चिनीमिलबाट रु नौ करोड, इन्दिरा सुगर मिलबाट रु पाँच करोड र वाग्मती चिनीमिलबाट रु आठ करोडको भुक्तानी पाउनुपर्ने बाँकी छ । चिनी उद्योगका सञ्चालकले किसानको रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि उद्योग मन्त्रालयमार्फत उद्योग सञ्चालकलाई आवश्यक सहजीकरण गर्न सो बारे उद्योग मन्त्रालयमा लिखित जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । 

तीमध्ये वाग्मतीको आव २०७६/७७, लुम्बिनीको आव २०७५/७६ र इन्दिराको आव २०७५/७६ मा किसानको उखु खरिद गरेवापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो । यद्यपि वाग्मती चिनी उद्योगले अब तत्कालै एक साताभित्र रकम भुक्तानी गर्ने तयारी गरिएको उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्ले बताउनुभयो । 

यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग  स्थापना  भएको वर्ष बाहेक अन्य सबै वर्ष चिनी उत्पादन बन्द गरेको छ भने  दुई वर्षदेखि लुम्बिनी चिनी उद्योगमा  चिनी उत्पादन बन्द हुँदै आएको छ । उद्योगहरुले विभिन्न वाहानमा रकम भुक्तानी गर्न आलटाल गर्दै आएकाले तत्काल रकम भुक्तानी शुरु नभए किसान आन्दोलनमा उत्रिन बाध्य हुने जिल्ला उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

यद्यपि जिल्लामा नियमित रुपमा इन्दिरा चिनी उद्योग मात्र सञ्चालनमा आउने गरेको छ भने किसानसँग उखु लिए बापत अघिल्लो वर्ष रकम भुक्तानी नगरेका कारण वाग्मती चिनी उद्योग यस वर्ष सञ्चालन हुन सकेन । पश्चिम नवलपरासीमा सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । 

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार चालू आव २०७६/७७ मा कूल तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको छ । यसैगरी अघिल्लो आव २०७५/७६ मा कूल तीन हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!