भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

Posted on: 31 Jul, 2016

साउन- १६, भोजपुर । भोजपुरमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । 

जेठको पहिलो साताबाट सुरु भएको रोपाइँ साउन मध्य हुँदासम्ममा ८० प्रतिशतको हाराहारीमा सकिएको जिल्ला कृषि विकास कार्यालय, भोजपुरले जनाएको छ । 

यस वर्ष ८५ प्रतिशतको हाराहारीमा रोपाइँ हुन सक्ने वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताउनुभयो । साउने तौली धान लगाएका कृषकले मात्र रोपाइँ गर्न बाँकी रहेको बताइएको छ । 

बढ्दो वैदेशिक रोजगारीसँगै सहरकेन्द्रित बसाइँ सराइका कारण खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै जाँदा भोजपुरमा यो वर्ष १५ प्रतिशतभन्दा बढी धानखेती हुने जमिन बाँझिन सक्ने कृषि विकास कार्यलय, भोजपुरको आँंकलन छ । 

भोजपुरमा १९ हजार १९० हेक्टरमा धानखेती हुने गरेको छ । गत वर्ष धानखेती हुने कुल क्षेत्रफलमध्ये ८५ प्रतिशतमा रोपाइँ गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । भोजपुरका कृषकले अट्टे र बेलकुटी बासमती मनसरा जातका स्थानीय धान बढी मात्रामा रोप्ने गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!