बागलुङमा फस्टाउँदै किवीखेती

Posted on: 03 Sep, 2016

भदौ १८, बागलुङ । नेपालको पूर्वी पहाडमा गरिँदै आएको किवीखेतीको विस्तार पश्चिमी पहाडमा पनि हुन थालेको छ । 

पूर्वका विभिन्न जिल्लामा व्यावसायिक रुपमा किवीखेती गरिँदै आएकोमा केही वर्षयता पश्चिमी पहाडमा पनि गर्न थालिएको छ । फलको राजाको रुपमा लिइँदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवी खेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । 

कृषि विकास कार्यालय बागलुङका अनुसार धौलागिरिका बागलुङ, पर्वत म्याग्दीलगायत पश्चिमका धेरै जिल्लामा यसको व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङमा सबैभन्दा पहिले ग्वालीचौरका किसान मेहयरसिँह पाइजाले २०५७ सालमा इलामबाट ल्याएर रोपको बिरुवामा २०६३ सालदेखि फल लागेको थियो । पूर्वमा राम्रो फल्ने र कमाइ पनि राम्रो हुने भनिए पनि पश्चिमी पहाडमा त्यस्तो नदेखिएकाले व्यावसायिक रुपमा किवीखेती गरिएको थिएन् । तर आजभोलि यसको व्यावसायिक खेती भन्ने सुरु भएको पाइजाले बताउनुभयो । 

विश्व बजारमा किवीको माग अत्याधिक भएकाले आफूले पनि व्यावासिकखेती गर्न थालिएको बागलुङ बूर्तिवाङका किसान राजेन्द्र पुनको भनाइ छ । दुईवर्ष अगाडि जिल्ला कृषि विकास कार्यालय बागलुङबाट ल्याएर रोपेका बिरुवामा फल लाग्न थालेपछि आफू व्यावसायिक किवीको खेतीगर्न लागेको उहाँको भनाइ छ । उहाँको बारीमा अहिले १७५ वटा बिरुवा हुर्किरहेका छन् । 

परीक्षणकै लागि लगाइको एउटा बोटबाट ५०÷६० केजी किवी फलेपछि अन्य किसान पनि आकर्षित बनेका छन् । यतिबेला बागलुङका बूर्तिवाङ, ग्वालीचौर, भकुन्डे, तित्याङलगायतका गाविसमा किवीखेती गर्न थालिएको छ । किवीखेती विस्तारका लागि जिल्ला कृषि विकास कार्यालय बागलुङले बर्सेनि ८०० देखि एक हजार बिरुवा अनुदानमा वितरण गर्दै आइरहेको छ । 

पहाडी भू–भागको एक हजार ५०० मिटरदेखि दुई हजार मिटरम्मको उचाइमा राम्रो हुने किवी माघ महिनामा रोपिने जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विम्लब अधिकारीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!