कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दो

Posted on: 04 Oct, 2016

असोज १८, अर्घाखाँची । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि किसानले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । कार्यालयले गत साता मात्रै २० वटा हाते ट्र्याक्टर वितरण गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले छिटो छरितो बेमौसमी खेती गर्ने किसानलाई ट्र्याक्टर सहयोगि बन्ने बताउनुभयो । यस आवमा कृषि प्रसार कार्यक्रमअन्तर्गत २० वटा हाते ट्र्याक्टर व्यक्तिगत, कृषक समूह तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

गएको असारमा पनि कृषक, समूह तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा २० वटा पावर टेलर वितरण गरिएको थियो । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्र्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकैनासले जोत्न सकिने बताएका छन् । कृषिमा यान्त्रीकरण प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!