प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाई जन्मकैद

Posted on: 03 Jan, 2019

पुष–१९, सन्धिखर्क | प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने कपिलबस्तुकी राधा घर्ति र उनका प्रेमी रमेश वि.क.लाई जन्म कैद हुने भएको छ । कपिलवस्तु निवासी ३६ वर्षीय धन बहादुर घर्ती मगरलाई ससुराली आएको बखत हत्या गरि बोरामा कुटुरो पारेर अर्घाखाँचीको डिभर्ना स्थित जंगलमा शव फाल्ने श्रीमती राधा र प्रेमी रमेशका बिरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा परेको कर्तव्य ज्यान मुद्धाको फैसला गर्दै जिल्ला न्याधिस रामचन्द्र पौडेलले यस्तो संजाय सुनाउनु भएको हो । 

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ७७ को २ बमोजिम उनिहरुलाई जन्म कैद र घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ३६,३ को ख बमोजिम ६ बर्ष कैदको फैसला सुनाइएको जिल्ला अदालत अर्घाखाँचीका श्रेष्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिनुभएको छ ।

जिल्ला न्याधिस पौडेलको एकल इजालसबाट मृतक धन बहादुर घर्तिका नावालक दुइ छोरालाई प्रतिवादी तिनै जनाबाट जनही ५० हजार रुपैंया क्षतीपूर्ति भराउने समेत फैसला गरिएको जिल्ला अदालत अर्घाखाँचीका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभएको छ ।

बाँणगंगा ७ धैरेनीडाँडा कपिलबस्तुका ३६ वर्षीय धनबहादुर घर्ती मगर सन्धिखर्क १२ डिभर्ना बस्यालटोल स्थित ससुराली आएको बेला गत भदौ १८ गते राती उनकै श्रीमती राधा, राधाको प्रेमी रमेश वि.क. र राधाकी आमा बसुन्धरा बस्यालको संयुक्त मिलोमतोमा धन बहादुरको निर्मम तरिकाबाट हत्या गरि शवलाई बोरामा कुटुरो पारेर जंगलमा फालिएको थियो । 

मुलुकी अपराध संहिता ऐन २०७४ गत भदौ १ गतेबाट लागु भएदेखी अर्घाखाँचीमा कर्तव्य ज्यान मुदाको फैसला भएको यो नै पहिलो घटना समेत भएको जिल्ला अदालत अर्घाखाँचीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!