अर्घाखाँचीमा जमीन भासिएर पहिरो जाँदा ३०० घर जोखिममा

Posted on: 28 Sep, 2020

असोज १२, अर्घाखाँची (रासस) । शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ । वडा नम्वर १२ को कोठिया मैदान र ११  ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेकोे निर्णय गरेको छ । 

सदरमुकाम सन्धिखर्कमा बसेको समितिको बैठकले पहिराबाट भएको क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ ।

घर भत्किएका र पहिराको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न  नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । 

उक्त स्थानमा जमीन धुजाधुजा भएर फाटेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताउनु भयो । पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन । सबै गाउँको जमीन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने समितिको बैठकले निष्कर्ष निकालेको छ । 

 कोठिया मैदानमा २६ घर पूर्ण रुपमा भत्किएका छन् । छयालीस घर पहिराको उच्च जोखिममा र झण्डै एक सय घर  जोखिममा  छन् ।  ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा  पाँच घर पूर्ण रुपमा भत्किएका छन् । एघार घर पहिराको उच्च जोखिममा रहेको र झण्डै दुई सय घरको सो क्षेत्र नै पहिराको जोखिममा रहेको वडा नम्वर ११ का वडाध्यक्ष कपिल आलेले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!