बागलुङका ४१ सडक स्तरोन्नति हुँदै

Posted on: 01 Sep, 2020

भदौ १६, बलेवा । बागलुङ जिल्लाका ४१ सडक स्तरोन्नति हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका तीन सडकसहित ती सडक स्तरोन्नति हुन लागेको हो ।  पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा रु ११ करोड ७६ लाखदेखि ४० लाखसम्म बजेट विनियोजन भएका सडकको स्तरोन्नतिको काम कार्यान्वयन गर्न थालेको हो । संघीय मन्त्रालय र स्थानीय तहले समेत सडक निर्माणको काम गरिरहेका छन् । 

प्रदेश सरकारको निर्णयअनुसार जिल्लामा कार्यालय स्थापना भएपछि एउटै योजनामा बजेट नदोहोरिने गरी सडकको स्तरोन्नति गर्ने प्रक्रिया कार्यालयले थालेको छ । यस वर्ष जिल्लामा सबैभन्दा धेरै बजेट कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकका लागि रु ११ करोड ७६ लाख विनियोजन भएको छ । सो सडक कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सबैभन्दा कम बजेट बागलुङ बजारका सरकारी कार्यालय आसपासका सडक स्तरोन्नतिमा हुनेछ । करीब  रु ४० लाख  खर्चेर यहाँका साना सडक व्यवस्थित बनाइने छ । गत आर्थिक वर्षसम्म प्रदेशका योजना पर्वतमा रहेको पूर्वाधार कार्यालयबाट कार्यान्वयन हुँदै आएका थिए ।

कठिन भूगोल रहेको जिल्लाका दूरदराजमा प्राविधिक जनशक्ति नपुग्ने र आपसी समन्वयको अभावमा योजनाहरुमा बजेट दोहोरिने गरेका गुनासासमेत आउने गरेका थिए । यही भदौ ८ मा स्थापना भएको कार्यालयले पहिलो चरणमा जिल्लाका सबै स्थानीय तहलाई प्रदेश सरकारले स्तरोन्नतिको काम गर्न थालेका सडकको विषयमा जानकारी गराएको छ ।  “एउटै योजनामा बजेट नदोहोरियोस् भन्ने हो सोहीअनुसार बोलपत्रमा जानु पूर्व स्थानीय तहहरुसँग जानकारी मागेका छौं”,  कार्यालय प्रमुख शोभियत खड्काले भन्नुभयोे,“अब प्रदेशका योजना कार्यान्वयनमा आउँदा डुब्लिकेशन हुँदैन ।”जिल्लामा प्रदेश सरकारले सात मोटरेबल पुल निर्माण गर्दैछ । जिल्लाभर प्रदेश सरकारको लगानीमा २१  झोलुङ्गे पुल निर्माण हुँदैछन् । जिल्लामा प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयअन्र्तगत निर्माण हुने केही सडक भने नयाँ ट्रयाक हुन् । “साना तर नयाँ ट्रयाकका कामसमेत यो वर्ष पनि छन्” उहाँले भन्नुभयो “कोरोना प्रभावले बजेट तलमाथि नभए यो वर्ष प्रभाव देखिने गरी सडकका काम हुन्छन् ।” साना भए पनि प्रदेशअन्र्तगतका सडकका काम बोलपत्र प्रक्रियाबाट गर्नुपर्ने भएकाले कार्यान्वयनमा भने समय लाग्ने उहाँले बताउनुभयो ।

खानेपानी गुणस्तरमा सुधार गर्नुपर्ने 

जिल्ला जलस्रोत समितिले बागलुङ बजारमा वितरण गरेको खानेपानीको गुणस्तर सुधार गर्नुपर्ने सुझावसहित अध्ययन अनुगमन प्रतिवेदन उच्च अदालतमा बुझाएको छ ।  समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा खानेपानीमा क्लोरिनको मात्रा बढी भएको, सरसफाई नपुगेको र मानव स्वास्थ्यप्रति गम्भीर नभएकोले आवश्यक सुझावसहित अदालतलाई लिखित जवाफ दिएको हो । 

दुई साताअघि उच्च अदालत पोखराको बागलुङ इजलासले जलश्रोत समिति र समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीका नाममा १० दिनभित्र अनुगमन प्रतिवेदन पेश गर्न आदेश दिएको थियो । खानेपानीको समस्या बढेको, हिलाम्मे पानी पाइपलाइनमा पठाइएको र लामो समयसम्म पानी विरतण नहुँदा स्थानीय बासिन्दाले टाढासम्म पुगेर पानी खेप्न बाध्य भएपछि अधिवक्ता रमेशबहादुर खड्काले नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाविरुद्ध रिट  दायर गर्नुभएको थियो । उहाँले रिटमा संस्थासहित जलश्रोत समिति, अध्यक्ष प्रअिज, बागलुङ नगरपालिका र नगरप्रमुखलाई विपक्षी बनाउनुभएको थियो ।

समितिले पेश गरेको प्रतिवेदनमा नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा प्राविधिक कर्मचारी नभएको, भएका अन्य कर्मचारी पनि दक्ष नभएकोले खानेपानीको संवेदनशिलता, खानेपानीको प्राविधिक तथा विशिष्ट अवस्थाबारे उपभोक्तालाई दिन नसकेको उल्लेख छ । स्वास्थय कार्यालयमार्फत गरिएको परीक्षणको क्रममा पनि अत्याधिक क्लोरिन भेटिएको थियो । साथै सोझै खोलाको पानी ल्याएर पाइपलाइनमा पठाइएको भनेपनि अनुगमनको क्रममा भने नदेखिएको बताइएको छ ।  केही समयअघि नालीको पानी सोझै वितरण गरेका भिडियो सार्वजनिकसमेत भएका थिए । रात्माटामा रहेको फिल्टर ट्यांकी तथा अन्य ट्यांकी सफा नगरिएकोले प्रदुषित पानी वितरण भएकोपनि अनुगमन टोलीले भेटाएको हो । प्रजिअ सुरेश न्यौपानेसहित सरोकारवाला र पत्रकारसमेतले अनुगमन गरेपछि उक्त प्रतिवेदन बनाइएको थियो ।

मर्मत र निर्माणका क्रममा गुणस्तर प्रमाणचिन्ह प्राप्त उपकरण प्रयोगमा ध्यान दिनुपर्ने पनि सुझाव दिइएको छ । साथै नियमित सफाइमा ध्यान दिन पनि भनिएको छ । स्लो स्याण्ड फिल्टरपछिको डिसइनफेक्सन च्याम्बरमा दैनिक पानी वितरण गर्नु आधा घण्टाअघि क्लोरिनेसन गर्नुपर्ने, म्याद नगुज्रेका पाउडर प्रयोग गर्नुपर्ने, दैनिक अनुगमन र नियमित प्रयोगशाला नियमित संचालन गर्नुपर्ने सुझाव दिइएको छ । प्रयोगशाला भएर पनि कर्मचारी भने नभएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । वैकल्पिक मुहानलाई स्थायी बनाउनुपर्ने तथा मध्यपहाडी लोकमार्गले क्षतविक्षत बनाएको तथा तत्काल सार्नुपर्ने स्थानको पाइपलाइनको बिकल्प खोज्नुपर्ने सुझाव पनि दिइएको हो । बागलुङ बजारमा रेशखोला, भुँदीखोला र रिठेखोलाको पानी ल्याइएको छ ।वर्षात्को कारण खसेको पहिरोले खानेपानीको १७ स्थानमा पाइपलाइन बगाएको थियो । यसअघि संस्थाले भने शुद्ध पानी खुवाउने प्रयास भैरहेको प्रतिवेदन बुझाएको छ । रासस 











यस बिषयमा तपाइको प्रतिक्रिया...!