मुहार फेर्दै बागलुङ बजार

Posted on: 10 Oct, 2020

असोज २४, बागलुङ | अबदेखि बागलुङ बजार छिर्दा तपाईँले केही फरक पाउनुहुनेछ । धुले सडक, साँघुरा चोक, अस्तव्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त हुँदैछ । अघिल्लो वर्ष शुरु भएको बजारको मुहार फेर्ने योजनाले यसपालि साकार रूप लिन थालेको हो । वर्षौँदेखि अव्यवस्थित र बिरुप बजारको परिचय बदल्न बागलुङ नगरपालिका जुर्मुराएको छ ।

बजारको सौन्दर्यीकरण गरिछाड्ने जनप्रतिनिधिको अठोट छ । सडक–चोक सुधारका लागि नगरपालिकाले ट्राफिक कार्यालयदेखि घर–टहारासम्म हटाएको छ । बजारको मुखैमा रहेको ट्राफिक र समीक्षालयचोक पहिलेभन्दा दोब्बर चौडा भएको छ । हल्लन, क्याम्पस र शिवधाराचोक पनि विस्तार भएको छ । घन्चमन्च सवारी गुड्ने, मोडिन नसकी बस÷ट्रक चोकमै अड्कने स्थितिबाट केही छुटकारा मिलेको छ । सडक फराकिलो बन्दा पैदलयात्रीको आउजाउ पनि सहजउन्मुख छ ।

“चोक सुधारले सवारी व्यवस्थापनमा केही सहजता थपिएको छ”, ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले भन्नुभयो । चोक–सडक विस्तारसँगै सडक सुरक्षाका पूर्वाधार पनि बनाउनुपर्ने उहाँको भनाइ छ । सडकछेउका जीर्ण विद्युत् पोल हटाउन ट्राफिक प्रहरी आफैँ पनि अग्रसर छ । “नगरपालिकाको अभियानमा हामी पनि साथ छौँ, यसले ट्राफिक व्यवस्थापन चुस्त बनाउन सघाउ पुग्छ”, प्रनानि पाठकले भन्नुभयो । उहाँले मालवाहक सवारीलाई बिहान–बेलुका मात्र बजार छिर्न दिने गरी प्रबन्ध गर्न लागिएको बताउनुभयो ।

साँघुरा सडक र बढ्दो सवारी चापलाई दृष्टिगत गरी ट्राफिक प्रहरीले गत वर्षदेखि पार्किङसमेत एकतर्फी गराउँदै आएको छ । सडकछेउ पैदलमार्ग नभएका कारण पनि ट्राफिक व्यवस्थापनमा थप चुनौती छ । पैदलयात्री सडककै बीच भएर जथाभावी हिँडिरहेका देखिन्छन् । नगरपालिकाका इञ्जीनियर गौरव शर्माले मापदण्डभित्र पर्ने संरचना हटाएर सडक चौडा पारिएको बताउनुभयो । उहाँका अनुसार बजारका मुख्य सडक १० र सहायक सडक ७ मिटरसम्म फराकिलो बनाइँदैछ । सडक विस्तार र स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको इञ्जीनियर शर्माको भनाइ छ ।


भूपी शेरचनचोक–किरानाटोल, धवलागिरि बहमुखी क्याम्पसको पश्चिम गेटदेखि गोल्डेनगेटचोक र वीरेन्द्र–एश्वर्य उद्यान आसपासको सडक चौडा पारिएको छ । सडक विस्तार गर्दा ट्राफिक कार्यालय, वीरेन्द्र–ऐश्वर्य उद्यानको पर्खाल, ज्ञानोदय भगवती पुस्तकालयको व्यावसायिक भवन भत्काइएको थियो । यस्तै मापदण्डभित्र पर्ने तत्कालीन जिल्ला विकास समिति, मालपोत, नापी कार्यालयको पर्खाल, माइक्रो काउण्टर र सार्वजनिक शौचालयसमेत हटाइएको नगरपालिकाले जनाएको छ । भूपिचोकदेखि किरानाटोलसम्म घरका पेटीसहितका संरचना फालेर सडक चौडा पार्ने काम भइरहेको छ ।

सडक विस्तार गर्ने, खाल्डाखुल्डी पुर्ने, जीर्ण पोल, तार हटाउने काम एकसाथ अघि बढेको वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताउनुभयो । “धेरै पुराना र अव्यवस्थित २८ वटा विद्युत् पोल हटाइसक्यौँ”, उहाँले भन्नुभयो, “आउँदो तीन÷चार महिनाभित्रमा बजारको स्वरुप केही फेरिन्छ ।”

वडाध्यक्ष आचार्यका अनुसार बजार क्षेत्रमा एक सयभन्दा बढी पुराना विद्युत् पोल हटाउनुपर्ने स्थिति छ । पोलमा गुजुल्टिएका र जथाभावी टाँगिएका विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तारले बजारलाई बिरुप तुल्याएको थियो । नेपाल विद्युत् प्राधिकरण,  टेलिकम कार्यालयलगायतसँगको समन्वयमा तार हटाउने काम भइरहेको छ । 

प्राधिकरणले नाङ्गो तार हटाएर नयाँ प्लाष्टिकजडित कालो तारबाट विद्युत् सेवा दिन शुरु गरेको छ भने टेलिकम पनि पुरानो तामाको तारको सट्टा फाइबर विस्तारमा केन्द्रित बनेको छ । बजारभित्रका जीर्ण सडक कालोपत्र गर्नेसमेत योजना नगरपालिकाको छ । गत वर्ष नै चोक सुधारको काम सक्ने लक्ष्य लिइए पनि कोभिड–१९ का कारणले पछाडि धकेलिएको जनाइएको छ । बजारका भित्री सडक र नाली निर्माणलाई पनि प्राथमिकता दिइएको वडाध्यक्ष आचार्यको भनाइ छ । 

उहाँले बजारमा आवादी बढेकाले पूर्वाधार विकास पनि सोहीअनुसार गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख जनकराज पौडेलले सडक मापदण्ड कडाइका साथ लागू गरिने बताउनुभयो । “सडकको अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाइरहेका छौँ, अब बजार व्यववस्थित हुन्छ, चोक–सडक सुधारको योजना निरन्तर चल्छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख पौडेलले सडकबत्ती र सिसी क्यामेरालाई पनि थप व्यवस्थित गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले दशैँअघि नै सडकका खाल्डाखुल्डी पुर्ने बताउनुभयो । बजारको ढल निकासका लागि रु ७० करोडको डिपिआर तयार भएको र  यही वर्ष ठेक्का प्रक्रियामा जाने नगरप्रमुख पौडेलले बताउनुभयो । उक्त योजनाका लागि सङ्घ सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।

व्यवस्थित ढल निकासले वर्षायाममा बागलुङ बजारका सडक जलमग्न हुने समस्या सधैँका लागि अन्त्य हुनेछ । “बजारलाई व्यवस्थित र आधुनिक बनाउन प्रयासरत छौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो । नगरपालिकाले बजार क्षेत्रमा पर्ने वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानमा समेत सौन्दर्यीकरणको काम थालेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!