मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो

Posted on: 05 Dec, 2016

मङ्सिर २०, बागलुङ । राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले गति लिएको छ । 

भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । हटिया–बुर्तिबाङ ४४ किलोमिटर खण्डमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ । 

उक्त खण्ड दुई वर्षभित्र कालोपत्रे गर्ने गरी २०७१ माघमा सम्झौता भएको थियो । अहिले सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली काट्ने, ‘ग्राबेल’ लगायतका काम भइरहेको छ । आयोजनाका बागलुङ खण्ड प्रमुख सिनियर डिभिजनल इन्जिनियर बद्रीप्रसाद शर्माका अनुसार आगामी एक वर्षभित्र सडक कालोपत्रे हुनेछ । 

“प्रतिकुल परिस्थितिले समयमै काम हुन सकेन, समय थपेर एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ” – इन्जिनियर शर्माले भन्नुभयो । चवालीस किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर निर्माणको जिम्मा दिइएको छ । हटियादेखि खर्बाङसम्मको १६ किमी सडक ‘शङ्कर माली’ले कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ । खर्बाङदेखि भीमगिठे ठूलाबेसीसम्मको अर्को १६ किमी सडक चालु आवभित्रै कालोपत्रे गर्ने गरी ‘रौताहा कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएको छ । 

ठूलाबेसी भीमगिठेदेखि बुर्तिबाङसम्मको १२ किमी सडकमा ‘दिवा कन्स्ट्रक्सन’ले काम गरिरहेको छ । मापदण्डअनुसार सडक विस्तार गर्ने क्रममा ठूलाबेसी–बुर्तिबाङखण्डमा ३० वटा घरटहरा हटाइएको ‘दिवा कन्स्ट्रक्सन’का इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले काम तीव्र रुपमा अघि बढेकाले निर्धारित समयमै निर्माण हुने बताउनुभयो । 

बुर्तिबाङ शेरादेखि निसी पातीहाल्नेसम्मको ४२ किमी सडक पनि तीन वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाले जनाएको छ । बुर्तिबाङ–बोहरागाउँ १७ किमी पनि ‘शङ्कर माली’ले नै, बोहरागाउँदेखि निसी चरिबाङसम्मको साढे १४ किमी ‘कालिका प्यासेफिक’ र अन्तिमखण्ड चरिबाङदेखि पातीहाल्नेसम्मको १० किमी २०० मिटर सडक ‘कन्काई कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएका छन् । 

लोकमार्गको बागलुङखण्डमा पर्ने १३५ किमी सडकमध्ये घोडाबाँधेदेखि हटियासम्मको २० किमी सडकखण्ड यसअघि नै कालोपत्रे भइसकेको छ । बाँकी ११५ किमी सडकलाई पनि विभिन्न खण्डमा बाँडेर स्तरवृद्धि र कालोपत्रे गर्ने काम भइरहेको इन्जिनियर शर्माले बताउनुभयो । “अबको तीन वर्षमा बागलुङखण्डको सबै सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ”, इन्जिनियर शर्माले भन्नुभयो – “लोकमार्गको बागलुङखण्डमा सबैभन्दा बढी काम भएको छ, अन्य जिल्लाको तुलनामा नमुना रुपमा काम भइरहेको छ ।” 

उहाँले बागलुङमा पर्ने दुई वटा पक्की पुलको मात्र ठेक्का हुन बाँकी रहेको जानकारी दिनुभयो । लोकमार्गको बागलुङखण्डमा पर्ने १८ वटा पक्की पुलमध्ये १२ वटा निर्माण भइसकेका छन् । लब्दीखोला, निसीको भल्कोट, भीमगिठे र निसीकै चारिबाङमा निर्माणाधीन पुलको काम चालु आवमा सकिने जनाइएको छ । 

सरकारले लोकमार्गको पश्चिमखण्डलाई अबको तीन वर्षभित्र कालोपत्रे गर्ने राष्ट्रिय लक्ष्य लिएको छ । लोकमार्गको पश्चिमखण्डको लागि चालु आवमा सरकारले रु एक अर्ब ४२ करोड बजेट विनियोजन भएको छ । नुवाकोटदेखि बैतडीसम्मका १४ वटा जिल्लामा पर्ने एक हजार ९७ किमी सडकका लागि यो बजेट छुट्याइएको हो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!