बागलुङ र गुल्मीमा चार बेलिब्रीज स्थापित

Posted on: 27 Sep, 2017

असोज ११, बागलुङ (रासस) | राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबार उद्घाटन गरिएको छ । 

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र गुल्मीको एउटा बेलिब्रीजको उद्घाटन गर्नुभएको हो । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखाला, वडा नं ७ को जैदीस्थित चौंरीखोला, वडा नं ८ छिस्तीको पालुङखोला र गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित गौदीखोलाको बेलिब्रीजको शुरु गरिएको हो । 

बेलिब्रीज उद्घाटन भएसँगै बागलुङमा सवारी चल्न बाँकी रहेको २३ किमीको टाकुरी–पालुङखोला खण्डमा सार्वजनिक यातायात चल्न थालेका छन् । यातायात शुभारम्भका क्रममा नेपाली सेनाको विकास निर्माण निर्देशनालयका महानिर्देशक योगेन्द्रबहादुर खाँड, निर्देशक उद्धव विष्ट, कार्यालय प्रमुख, जनप्रतिनिधि, राजनीतिक दललगायत सर्वसाधारण उपस्थित थिए । सदरमुकामदेखि हिँडेका बस र जिपले पुल तरेर अगाडिको यात्रा तय गर्दा यात्रु र प्रत्यक्षदर्शीले खुशीयाली मनाएका थिए । 

सो अवसरमा प्रधानसेनापति क्षेत्रीले जनताको सहयोगमा मात्र सेनाले काम गर्नसक्ने बताउँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिइने छ भन्नुभयो । व्यवस्थापिका–संसद्, विकास समितिका सदस्य प्रकाश शर्मा पौडेलले यस वर्ष बागलुङ खण्डका लागि थप रु २५ करोड र गुल्मीका लागि रु ३५ करोड बजेट छुट्याउन समितिले पहल गरिरहेको जानकारी दिनुभयो । 

करिडोर निर्माण कार्यदलका प्रमुख इञ्जिनियर रेश्मीराज भट्टराईले जैमिनी नगरपालिका–७ को लौहाखोलामा थप एक बेजिब्रीज बन्न बाँकी रहेको र सेनाको जिम्मामा रहेको गुल्मीको रिडीदेखि बागलुङको मालढुंगासम्मको ८५ किमी मार्ग खोल्दा रु एक अर्ब तीन करोड खर्च भएको जानकारी दिँदै पुल निर्माण, मर्मतसुधार र स्तरोन्नतिको लागि थप रु एक अर्ब चाहिने बताउनुभयो । सडक विभागले काममा ढिलाइ गरेपछि सरकारले चार वर्षअघि करिडोरको मार्ग खोल्ने जिम्मा सेनालाई दिएको थियो । 

नेपाललाई भारत र चीनसँग जोड्ने ३४५ किमीको सो करिडोरको मार्ग खोल्ने काम गत असारमै पूरा भए पनि वर्षायाममा यातायात चलेको थिएन । पुलको निर्माण र वर्षा घटेसँगै अहिले छोटो दूरीमा सवारीसाधन चलिरहेका छन् । यात्रुको माग र सडकको अवस्था हेरेर लामो दूरीका सवारी चलाउने योजना रहेको धौलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । व्यापार र पारवहनका दृष्टिले महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!