गाउँपालिकामा पहिलो पटक ल्याब सेवा

Posted on: 24 Dec, 2018

पुष ९, गलकोट (रासस) | बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा पहिलो पटक ल्याब सेवा सञ्चालनमा आएको छ । 

गाउँपालिकाको पहलमा उक्त ल्याब सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । स्वास्थ्य विभागको रु एक लाख ८२ हजार बराबरको प्राविधिक सहयोगमा ल्याब सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उक्त ल्याब सञ्चालनका लागि आव २०७५÷७६ का लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले ल्याब सञ्चालनका लागि एक जना ल्याब टेक्निसियनसमेत राखेको छ । 

सामान्य सेवाका लागि पनि गाउँपालिका छोड्नुपर्ने समस्याको समाधान भएको छ । गत मङ्सिर २३ गतेदेखि शुरु भएको ल्याब सेवामा दिनमा तीनदेखि पाँच जनासम्म बिरामी परीक्षणका लागि आउने गरेका छन् । ल्याबमा रगत, दिसा, पिसाब लगायतको परीक्षण हुने बताइएको छ । यस वर्ष स्वास्थ्य क्षेत्रका लागि गाउँपालिकाले झण्डै ५० लाख विनियोजन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!