मध्य ताराखोलामा लगानी जुट्यो

Posted on: 13 Jul, 2019
असार २८, बलेवा । बागलुङको ताराखोलामा निर्माण हुने १.७ मेगावाट क्षमताको मध्य ताराखोला जलविद्यत् आयोजनाका लागि लगानी जुटेको छ ।

आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोलाको निर्माण सम्पन्न गर्न रु ३४ करोड लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये रु २७ करोड २० लाख प्रभु बैंकले लगानी गर्नेछ भने रु ६ करोड ८० लाख सो पुँजी लगानी आयोजना सञ्चालक सदस्य हरिनारायण गौतमले बताउनुभयो । 

मध्य ताराखोला हाइड्रोपावर प्रालि र प्रभु बैंकबीच शुक्रबार लगानी सम्झौता भएको छ । लगानी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष शिव गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले आयोजनालाई तोकिएको समयमा नै पारदर्शीरूपमा सम्पन्न गर्न प्रवद्र्धकलाई आग्रह गर्नुभयोे । मध्य ताराखोला हाइड्रोपावर प्रालिद्वारा प्रवद्र्धित मध्य ताराखोला साना जलविद्युत् आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको गौतमले बताउनुभयो ।

सम्झौतामा कूल लगानीको ८० प्रतिशत बैंकले र २० प्रतिशत प्रवद्र्धक कम्पनीको स्वपूँजी लगानी हुने उल्लेख छ । कम्पनीका अध्यक्ष गिरीले आयोजना तोकिएको समयभित्रै सम्पन्न हुने र सबै प्रक्रिया पारदर्शी रुपमा गरिने बताउनुभयो । कम्पनीका प्रबन्ध सञ्चालक अनिल खड्काले लगानी सम्झौता भएकाले अब काम तीव्ररुपले अगाडि बढाइने बताउनुभयो ।

स्थानीयवासी धनबहादुर विक ‘हिमाल’ले आयोजना निर्माण हुनु खुशीको विषय भएको बताउँदै स्थानीयवासीको साथ र सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । 

इञ्जिनीयर अनुप खड्काका अनुसार पानीको समस्या नरहेकाले यो आयोजनाको क्षमता वृद्धि गरेर २.२ मेगावाटसम्म बनाउन सकिन्छ । आयोजना बागलुङको ताराखोला गाउँपालिका–५ मा निर्माण हुँदैछ । यहाँबाट उत्पादित हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको हरिचौर सवस्टेशनमार्फत राष्ट्रिय प्रसासरण लाइनमा जोडिने छ ।  

दूध निर्यात गर्दै बागलुङ

बागलुङ जिल्ला दूधमा आत्मनिर्भर भएसँगै त्यसको निर्यातसमेत हुन थालेको छ । बागलुङमा खपत हुने दूध भन्दा उत्पादन धेरै हुन थालेपछि निर्यात थालिएको हो । 

आर्थिक वर्ष २०७५÷७६मा बागलुङबाट रु चार करोड ३७ लाख ७० हजार बराबरको दूध निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । 

बागलुङमा निर्वाहमुखी पशुपालन घटे पनि व्यावसायिक रुपमा दूध उत्पादन गर्ने किसान वृद्धि हुनु तथा पशुमा कृत्रिम गर्भाधानका कारण दूध उत्पादनमा वृद्धि भएको हो । बागलुङमा दैनिक ६६ हजार ९६९ लिटर दूध आवश्यक पर्ने भए पनि ६८ हजार ४६८ लिटर उत्पादन भएका कारण निर्यात गर्न थालेको वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार दैनिक एक हजार ५०० लिटर हाराहारी दूध बाहिर निर्यात भइरहेको छ । गाईवस्तुको उचित स्याहारसुसार, आहारामा सुधार र दूध उत्पादनमा युवा कृषकको आकर्षणले उत्पादन वृद्धि भएको छ”, शर्माले भन्नुभयो “दूधको खपतभन्दा दैनिक उत्पादन बढी भएका कारण छिमेकी जिल्ला पर्वत तथा गुल्मीमा दूध निर्यात हुँदै आएको छ ।”

जिल्लाको दक्षिण क्षेत्र बलेवा, जैमिनी, कुश्मिशेरा, बिनामारेलगायतका क्षेत्रमा उत्पादन हुने झण्डै एक हजार लिटर दूध सोझै पर्वतको सदरमुकाममा निर्यात हुने गरेको छ । पश्चिम क्षेत्र बूर्तिवाङ तथा खर्वाङमा दैनिक उत्पादन हुने करीब ५०० लिटर दूध गुल्मीको वामीटक्सारमा निर्यात भएको शर्माले जानकारी दिनुभयो । एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध आवश्यक हुने तर बागलुङमा एक व्यक्तिलाई ९३ लिटर दूध उत्पादन भएको पशु प्राविधिक केशव शर्माले बताउनुभयो । यही अवस्थामा दूध उत्पादन वृद्धि भएमा म्याग्दी तथा पोखरासम्म निर्यात गर्न सकिने पशुसेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । बागलुङ बजारमा मात्र आवश्यक ५० प्रतिशतभन्दा बढी दूध जिल्लाका सहकारीले उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष युक्त कँडेलले बताउनुभयो । सहकारीमार्फत दूध उत्पादन तथा वितरण गर्दा कृषकलाई आर्थिकरुपमा धेरैं फाइदा हुने भन्दै कृषक सहकारीका माध्यमबाट दूध उत्पादन तथा वितरण गर्न प्रोत्साहित भएको कँडेलको भनाइ थियो । 

हाल बागलुङ बजारमा मात्र दैनिक छ हजार लिटर दूध आवश्यक पर्दछ जसमध्ये दुई हजार ५०० लिटर दूध जिल्ला सहकारी सङ्घमा आबद्ध १३ दुग्ध उत्पादक सहकारीले उत्पादन गरिरहेका छन् । दूध उत्पादनबाट व्यवसायीले मनग्य आम्दानी गर्न थालेपछि विदेश गएर फर्केका युवा पनि गाई, भैँसी फार्म स्थापना गर्न थालेका हुन् । यस्तै जिल्लामा पछिल्लो समय कुखुराको अण्डामासमेत उत्पादन बढाउँदै आएको छ । बागलुङमा यो आर्थिक वर्षमा एक करोड १५ लाख ५० हजार अण्डा उत्पादन भएको भन्दै केन्द्रले आगामी आर्थिक वर्षमा अण्डामा समेत आत्मनिर्भर हुने लक्ष्य रहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!